भोटेकोशी नदीमा आएको बाढीका कारण चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि यसको प्रत्यक्ष प्रभाव वीरगंज नाकाको व्यापारमा परेको छ। उत्तरी नाकाबाट हुने आयात प्रभावित भएपछि व्यवसायीहरूले वैकल्पिक मार्गका रूपमा वीरगन्ज नाका प्रयोग गर्न थालेका छन्। दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै जाँदा चीनबाट आयात हुने कपडा, जुत्ता, सजावटका सामग्री, ड्राइ फ्रुट्स, चकलेटलगायत वस्तु वीरगंज नाका हुँदै नेपाल भित्रिन थालेका छन्।
वीरगंज भन्सार कार्यालयअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहमार्फत रेलबाट चीनबाट आएका केही मालवस्तुको आयातसमेत सुरु भएको छ। चाडपर्व लक्षित सामग्रीबाहेक इन्धन, सवारीसाधन, निर्माण सामग्री, खाने तेललगायत वस्तुको नियमित आयात भइरहेकाले भदौमा भन्सार राजस्व असुलीमा समेत वृद्धि देखिएको छ। उत्तरी नाका बन्द भएपछि वीरगंज भन्सारमा दैनिक आयातको चाप करिब ७० प्रतिशतले बढेको बताइएको छ। भदौका लागि तोकिएको २३ अर्ब ५२ करोड रुपैयाँ राजस्व लक्ष्यको ९३.३७ प्रतिशत रकम २४ गतेसम्ममै संकलन भइसकेको छ।
तर, बढ्दो आयातसँगै ढुवानी व्यवस्थापनमा भने समस्या देखिएको छ। बाढीका कारण मुख्य राजमार्गका केही सडकखण्ड क्षतिग्रस्त भएपछि काठमाडौँतर्फ सामान लैजान वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ। ठूला कन्टेनरबाट आएका सामानलाई साना सवारीसाधनमा स्थानान्तरण गरेर ढुवानी गर्नुपर्दा लागतसमेत बढेको व्यवसायीहरूको भनाइ छ। ढुवानी खर्च बढेपछि त्यसको असर बजार मूल्यमा पर्न सक्ने भन्दै उपभोक्तासम्बन्धी क्षेत्रमा काम गर्ने संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। चाडपर्वको समयमा आयात र माग दुवै बढ्ने भएकाले ढुवानी लागत थपिँदा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ।