मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजना हुन लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ मा सहभागी हुन वीरगंज महानगरपालिकाको टोली आगामी भदौ ३० गते जोमसोम जाने भएको छ ।
जलवायु परिवर्तनका कारण तराई–मधेशमा बढ्दै गएको अत्यधिक गर्मी तथा खानेपानीका मुहान सुक्दै गएको समस्यालाई राष्ट्रिय मञ्चमा उठाउने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले ‘तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश’ भन्ने नारा तय गरेको छ ।
सम्मेलनमा सहभागी हुन जाने महानगरपालिकाका प्रशासन प्रमुख कीर्ति सुवेदी र वातावरण शाखा प्रमुख राकेश साहलाई विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले टोलीलाई शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख आलमले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको भन्दै यसको प्रभाव तराई–मधेशमा समेत गम्भीर रूपमा देखिन थालेको बताए । उनले वीरगंजसहित मधेशका विभिन्न क्षेत्रमा भूमिगत जलसतह घट्दै जाँदा खानेपानीको समस्या बढ्दै गएको उल्लेख गरे ।
जोमसोममा हुने सम्मेलनमार्फत मधेशले भोगिरहेको वातावरणीय संकट र तराईका वास्तविक समस्यालाई प्रभावकारी रूपमा प्रस्तुत गरिने उनले बताए ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बोहराले सम्मेलनले देशका स्थानीय तहहरूलाई जलवायु अनुकूलनका रणनीति निर्माणका लागि साझा मञ्च प्रदान गर्ने बताए । हिमालदेखि तराईसम्मका स्थानीय तह एकै ठाउँमा उभिएर जलवायु परिवर्तनका साझा चुनौतीको सामना गर्न रणनीति निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
उनका अनुसार वीरगंजको टोलीले सम्मेलनमा मधेशका तर्फबाट ठोस सुझाव तथा प्रतिवेदन प्रस्तुत गर्नेछ ।
नेपाल सरकार, प्रदेश सरकार तथा विभिन्न भगिनी स्थानीय तहहरूको सहयोगमा घरपझोङ गाउँपालिकाले भदौ ३० र ३१ गते जोमसोम कभर्ड हलमा सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा देशभरका ७५३ स्थानीय तहका प्रमुख तथा जलवायु विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनको समापनमा कालीगण्डकीको तटबाट ‘घरपझोङ घोषणापत्र, २०८३’ जारी गरिने जनाइएको छ ।