कुमारी बैंक लिमिटेडको पोखरिया शाखाले परिवार सुरक्षा बचत खाता सञ्चालन गरेका ग्राहक रमेश प्रसाद चौहानलाई बीमाअन्तर्गत ४९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
चौहानले स्वास्थ्य उपचार गराएबापत यो बीमा रकम प्राप्त गरेका हुन् । परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत ग्राहकले खाता खोल्दा स्वास्थ्य उपचारको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजनामा बचत मात्र नभई आकस्मिक स्वास्थ्य समस्यामा आर्थिक सहयोग उपलब्ध गराउने सुविधा समेत रहेको छ ।
बीमा रकम पाएका ग्राहक रमेश प्रसाद चौहानले कुमारी बैंकको सेवाप्रति आभार प्रकट गर्दै स्वास्थ्य उपचारका लागि यो बीमा रकमले ठूलो राहत मिलेको बताए । साथै, उनले अन्यलाई पनि यस्तो खाता खोल्न प्रेरित गर्ने प्रतिक्रिया दिए । पोखरिया शाखामा आयोजित कार्यक्रमले बैंक र ग्राहकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गरेको छ ।
कार्यक्रममा कुमारी बैंकका मधेश प्रदेश क्षेत्रीय प्रबन्धक रञ्जित कुमार यादवले बैंकका सेवा तथा योजनाहरूले ग्राहकलाई प्रत्यक्ष लाभ पुर्याउन सफल भएको बताएका थिए । शाखा प्रबन्धक विष्णुप्रसाद साहले परिवार सुरक्षा बचत खाता योजनाको उद्देश्य बचतसँगै बीमा सुविधा उपलब्ध गराई ग्राहकलाई आर्थिक सुरक्षा प्रदान गर्नु रहेको जानकारी दिए । कुमारी बैंकद्वारा सञ्चालित यो योजना परिवारको आर्थिक सुरक्षाका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । यस योजनामा ग्राहकले मासिक न्यूनतम रकम बचत गरी स्वास्थ्य बीमा, जीवन बीमा, र आकस्मिक दुर्घटना बीमा सुविधा प्राप्त गर्न सक्दछन् ।
कार्यक्रममा स्थानीय प्रतिनिधिहरू पूर्वमेयर मन्टु रौनियार, पोखरिया नगरपालिका वडा नं. ९ का पूर्ववडाध्यक्ष रामबाबु प्रसाद चौहान, समाजसेवी श्रीलाल साह कानु लगायतको उपस्थिति रहेको थियो ।