स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित पर्सामा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला, पलनवा थाना–१० बस्ने ५५ वर्षीय अशोक कुमार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–रजतजयन्ती चोकमा नियमित चेकजाँच गर्ने क्रममा भारतबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा ५०० दरका ८९१ थान, २०० दरका १ थान र १०० दरका ४ थान गरी कुल ४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका कुमारलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।