जीतपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको काम अघि बढाएको छ ।
उपमहानगरपालिकाको ७०औँ कार्यपालिका बैठकले वडा नम्बर १, २ र २१ मा पहिचान भएका १ हजार ६ सय ४९ परिवारको विवरण स्वीकृत गरेको हो । शुक्रबार बसेको कार्यपालिका बैठकले स्वीकृत गरेको विवरणअनुसार २४ जना भूमिहीन दलित, २ सय ४८ जना भूमिहीन सुकुम्बासी र १ हजार ३ सय ७८ जना अव्यवस्थित बसोबासी रहेका छन् । उपमहानगरपालिकाका अनुसार सम्बन्धित परिवारको पहिचान तथा प्रमाणीकरण ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड, २०८३’ बमोजिम गरिएको हो ।
स्वीकृत विवरणअनुसार वडा नम्बर १ मा ६ जना भूमिहीन दलित र १ सय १६ जना भूमिहीन सुकुम्बासी गरी १ सय २२ परिवारको विवरण समावेश गरिएको छ। उक्त वडामा अव्यवस्थित बसोबासीको विवरण भने स्वीकृत सूचीमा परेको छैन।
त्यस्तै, वडा नम्बर २ मा सबैभन्दा बढी ८ सय ९३ परिवारको विवरण प्रमाणीकरण गरिएको छ। तीमध्ये १७ जना भूमिहीन दलित, १ सय ६ जना भूमिहीन सुकुम्बासी र ७ सय ७० जना अव्यवस्थित बसोबासी रहेका छन् । वडा नम्बर २१ मा भने १ जना भूमिहीन दलित, २६ जना भूमिहीन सुकुम्बासी र ६ सय ८ जना अव्यवस्थित बसोबासी गरी ६ सय ३५ परिवारको विवरण स्वीकृत भएको उपमहानगरपालिकाले जनाएको छ ।
कार्यपालिकाबाट स्वीकृत सूची आवश्यक प्रक्रिया पूरा गरी भूमि समस्या समाधान समिति, बारामा पठाइने भएको छ। स्थानीय तहबाट पहिचान तथा प्रमाणीकरणको चरण पूरा भएपछि सम्बन्धित परिवारको जग्गा व्यवस्थापन तथा स्वामित्वसम्बन्धी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरणलाई जग्गा व्यवस्थापन प्रक्रियाको महत्वपूर्ण आधारका रूपमा लिइएको छ । स्वीकृत विवरणमाथि सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा भएपछि लाभग्राही परिवारले जग्गा प्राप्त गर्ने बाटो थप स्पष्ट हुने उपमहानगरपालिकाको अपेक्षा छ ।
भिडियाे रिपाेर्ट