जनकपुरधाम । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले अग्रगामी मोर्चामा आबद्ध नौ राजनीतिक दल आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर सहभागी हुने तयारीमा रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिह्नबाट निर्वाचनमा जाने तयारीमा रहेको बताएका हुन् ।
अन्सारीका अनुसार अहिले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी भइरहेको छ। आगामी दिनमा भने मोर्चामा आबद्ध दलहरूबीच स्थायी राजनीतिक एकता कायम गर्ने योजना रहेको उनले बताए ।
उनले मोर्चामा आबद्ध दलहरूबीच सहकार्यलाई थप मजबुत बनाउँदै संगठनात्मक गतिविधि अघि बढाउने आवश्यकता रहेकोमा जोड दिए ।
जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीबाट आएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा मोर्चाको आगामी राजनीतिक गतिविधि, संगठन विस्तार तथा निर्वाचन तयारीका विषयमा छलफल र अभिमुखीकरण गरिएको जनाइएको छ ।
हाल अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल आबद्ध छन् ।