दाइजो प्रथा, बालविवाह र लागुऔषध दुव्र्यसनविरुद्ध पर्सा प्रहरीले गाउँ–गाउँ पुगेर जनचेतनामूलक अभियान सञ्चालन गर्ने भएको छ ।
सामाजिक कुरीतिका घटना न्यूनीकरण गर्दै सुरक्षित र कुरीतिमुक्त समाज निर्माण गर्ने उद्देश्यले प्रहरीले ‘नागरिक–प्रहरी सहकार्य, सुरक्षित र कुरीतिमुक्त समाज’ अभियान सुरु गरेको हो । अभियानको शनिबार वीरगञ्ज महानगरपालिका–२० हरपतगन्जमा एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको छ । अभियानअन्तर्गत जिल्लाका विभिन्न गाउँ तथा समुदायमा पुगेर विद्यार्थी, महिला र युवालाई लक्षित गरी दाइजो प्रथा, बालविवाह र लागुऔषध दुव्र्यसनका कारण, असर तथा कानुनी व्यवस्थाबारे जानकारी गराइने प्रहरीले जनाएको छ । अभियान उद्घाटन कार्यक्रममा बोल्दै पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले जिल्लामा दाइजो,
बालविवाह र लागुऔषधसम्बन्धी समस्या गम्भीर रूपमा देखिएकाले कुरीतिविरुद्ध समुदायस्तरबाटै अभियान आवश्यक रहेको बताए । उनले कानुन कार्यान्वयनसँगै नागरिकलाई सचेत र जिम्मेवार बनाउन सके मात्रै सामाजिक कुरीति नियन्त्रण प्रभावकारी हुने बताए ।
‘यी तीनवटै सामाजिक समस्या पर्सामा जरा गाडेर बसेको तथ्यांकले देखाइरहेको छ,’ एसपी भट्टराईले भने, ‘कानुन कार्यान्वयनसँगै समाजलाई सचेत र जिम्मेवार बनाएर कुरीति अन्त्य गर्ने उद्देश्यले अभियान सुरु गरेका हौँ ।’ सामाजिक कुरीति नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै उनले नागरिक, युवा तथा विद्यार्थीको सक्रिय सहभागितालाई अभियानको मुख्य आधार बनाइएको बताए । उनले घरपरिवार तथा समुदायमा हुने हिंसा, बालविवाह र लागुऔषध सेवनजस्ता गतिविधिबारे प्रहरीलाई तत्काल जानकारी गराउन नागरिकलाई आग्रह गरे ।
‘कुनै महिलामाथि कुटपिट हुन्छ भने त्यो घरेलु हिंसा हो । कम उमेरमा विवाह गराइन्छ भने त्यो बालविवाह हो । युवाले रमाइलोका लागि लागुऔषध सेवन गर्छन् भने त्यो दुव्र्यसन हो,’ उनले भने, ‘यस्ता गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नुस् । हामी त्यस्ता घटना रोक्न तत्काल आइपुग्छौँ ।’ कार्यक्रममा सहभागी विद्यार्थी तथा युवाले सामाजिक कुरीति नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका पर्सा प्रमुख, सशस्त्र प्रहरी बलका प्रतिनिधिलगायत सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको सहभागिता थियो । उनीहरूले सामाजिक कुरीति नियन्त्रणलाई प्रहरीको मात्रै जिम्मेवारी नठानी हरेक नागरिकले आफ्नो तहबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अभियान उद्घाटनका क्रममा दाइजो प्रथा, बालविवाह र लागुऔषध दुव्र्यसनका कारण तथा त्यसबाट समाजमा पर्ने असरबारे सन्देश दिन सडक नाटकसमेत प्रस्तुत गरिएको थियो । प्रहरीका अनुसार अभियानलाई पर्साका विभिन्न गाउँ तथा समुदायसम्म विस्तार गरिनेछ । जनचेतना अभिवृद्धिसँगै कुरीतिसम्बन्धी घटनाको सूचना संकलन, रोकथाम तथा आवश्यक कानुनी कारबाहीलाई समेत प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।