र्साको पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरटाँडीमा सञ्चालन हुँदै आएको कृषि बजार आगामी असोज ५ गतेदेखि नयाँ स्थानमा स्थानान्तरण हुने भएको छ ।
नवनिर्मित कृषि बजार तथा चिस्यान केन्द्रबाट बजार सञ्चालन गर्ने निर्णय गरिएको हो । पुरानो बजार क्षेत्रमा मुख्य सडक नै प्रयोग गरी हाटबजार सञ्चालन हुँदै आएको र त्यसका कारण सवारी दुर्घटनाको जोखिम बढेको भन्दै बजारलाई नयाँ स्थानमा सार्ने निर्णय गरिएको हो । साथै, पुरानो बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी विभिन्न संरचना निर्माण गरिएको विषय पनि स्थानान्तरणको अर्को कारण बनेको जनाइएको छ ।
वडाध्यक्ष विजय गैरेको अध्यक्षतामा जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी तथा स्थानीय सरोकारवालाबीच भएको छलफलले असोज ५ गतेदेखि नयाँ स्थानबाट बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
छलफलमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारी, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौनाका प्रहरी निरीक्षक सुरेन्द्र थापा, प्रहरी चौकी रङ्गपुरटाँडीका प्रहरी सहायक निरीक्षक हर्कबहादुर श्रेष्ठलगायत सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो । यस्तै, नेपाली कांग्रेसका नेता सुलमान मियाँ दर्जी, रामचन्द्र गौरो थारूसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी तथा स्थानीय सरोकारवाला सहभागी थिए ।
छलफलका क्रममा पुरानो बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी दुईदेखि तीन तलासम्मका पक्की संरचना निर्माण गरेर व्यवसाय सञ्चालन भइरहेको र मुख्य सडकमा नै हाटबजार लाग्ने गरेका कारण दुर्घटनाको जोखिम बढेको निष्कर्ष निकालिएको थियो । त्यसैले अबदेखि पुरानो स्थानमा हाटबजार सञ्चालन नगर्ने निर्णय गरिएको हो ।
वडाध्यक्ष गैरेले स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाको सहमतिमै नयाँ कृषि बजार तथा सेड निर्माण गरिएको बताए । निर्माणका क्रममा कुनै विरोध नभएको उल्लेख गर्दै उनले अहिले बजार गलत स्थानमा निर्माण गरिएको भन्दै लगाइएका आरोप निराधार रहेको दाबी गरे ।
रङ्गपुरटाँडीमा हाल हरेक हप्ताको सोमबार र शुक्रबार हाटबजार लाग्दै आएको छ । बजार स्थानान्तरणबारे स्थानीय बासिन्दा तथा व्यवसायीलाई जानकारी गराउन बजार लाग्ने दिन माइकिङ गरिने जनाइएको छ । यसैबीच, पुरानो बजार क्षेत्रमा सडकको दुवैतर्फ नाला निर्माणको कामसमेत तत्काल अघि बढाउने निर्णय गरिएको वडाध्यक्ष गैरेले जानकारी दिए ।