नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीको सफलताले नेपालीमा खुसी ल्याउन सकेकामा आफूलाई गर्व लागेको बताएका छन् ।
एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका कप्तान लामिछानेले टोलीको सफलतामा खेलाडी मात्र नभई समर्थक, प्रशिक्षक तथा पर्दापछाडि रहेर सहयोग गर्ने सबैको योगदान रहेको बताए । शनिबार यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो। उपाधिसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थानसमेत सुरक्षित गरेको छ । नेपाल यसअघि सन् २०२३ मा पहिलोपटक एसिया कपमा पुगेको थियो ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो उपलब्धिले नेपाली क्रिकेट सही दिशातर्फ अघि बढिरहेको सन्देश दिएको बताए । उनले देश दुःख र कठिनाइमा रहेका बेला क्रिकेटमार्फत भए पनि नेपालीलाई खुसी दिन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताए।
“देश दुःखिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुसी दिन सकिएको छ । नेपाल दुःखिरहेको अवस्थामा सबैले एकअर्कालाई साथ दिइरहनुभएको थियो, त्यो निकै प्रशंसनीय छ,” लामिछानेले भने । कप्तान लामिछानेका अनुसार प्रतियोगिताका क्रममा खेलाडीहरू देशका लागि आफ्नो अन्तिम खेल खेलिरहेको जस्तो भावनाका साथ मैदानमा उत्रिएका थिए । प्रत्येक बलमा शतप्रतिशत प्रयास गर्ने लक्ष्यका साथ टोलीले खेल प्रदर्शन गरेको उनको भनाइ छ ।
यूएईविरुद्धको फाइनलमा बलिङपछि ब्याटिङमा पनि टोलीले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए। विशेषगरी दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले दबाबका बीच टोलीलाई सम्हाल्दै अघि बढाएको प्रदर्शन प्रशंसनीय रहेको लामिछानेले बताए ।
नेपालको यो सफलताले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीको आत्मविश्वास बढाउनुका साथै आगामी एसिया कपका लागि समेत उत्साह थपिएको कप्तान लामिछानेको भनाइ छ ।