पर्साको महुवन क्षेत्रबाट चोरी भएको ट्याक्टर प्रहरीले २४ घण्टा नबित्दै बरामद गरेको छ। प्रहरीले ट्याक्टर चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई समेत पक्राउ गरेको छ ।
गएराति महुवनबाट ट्याक्टर चोरी भएपछि खोजीका लागि प्रहरी चौकी महुवनका प्रमुख प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको कमान्डमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
घटनालगत्तै खोजी तथा सुराकी परिचालन गरेको प्रहरी टोलीले निरन्तरको प्रयासपछि चोरी भएको ट्याक्टर र चोरीमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई ठोरी गाउँपालिका–४ क्षेत्रबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद ट्याक्टर आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीको शीघ्र कारबाहीबाट चोरी भएको ट्याक्टर छिट्टै बरामद भएपछि स्थानीयवासीले प्रहरीको सक्रियताको प्रशंसा गरेका छन् ।