वीरगंजबाट प्रहरीले भन्सार छली गरी ओसारपसार गर्न लागिएको ११ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सूचना परिचालन तथा प्रहरी कारबाहीका क्रममा भदौ २७ गते साँझ करिब ६ः३० बजे वीरगंज महानगरपालिका–१६ स्थित इनर्वागाउँबाट भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा लत्ताकपडा नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार बरामद गरिएका विभिन्न किसिमका लत्ताकपडाको कुल मूल्य ११ लाख २ हजार १ सय ४० रुपैयाँ बराबर रहेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि भदौ २८ गते वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।
भिडियाे रिपाेर्ट