पर्साको क्लार्क रिसोर्टस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन’ क्यासिनोमा अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना धरौटीमा रिहा भएका छन् ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गरी जुवा खेल्न कानुनतः प्रतिबन्ध रहे पनि गत भदौ २० गते राति करिब साढे १० बजे पर्सा प्रहरीले उनीहरूलाई क्यासिनोबाटै नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साबाट दुई पटक गरी १० दिन म्याद थप गरिएको थियो । पहिलो पटक ६ दिन र दोस्रो पटक ४ दिन म्याद थप गरी अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई धरौटीमा रिहा गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आरोपित कसुरअनुसार फरक–फरक धरौटी रकम तोकिएको थियो । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव २५ हजार रुपैयाँ र प्रहरी निरीक्षक प्रदीप पौडेल १८ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
त्यस्तै, सखुवाप्रसौनीका चन्दन सहनी, वीरगञ्ज–११ स्थित निम्बसका कर्मचारी ओमप्रकाश बैठा र क्यासिनो कर्मचारी प्रदेशी साह जनही १५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
नेपाली नागरिकलाई गैरकानुनी रूपमा क्यासिनो प्रवेश गराउन सहयोग गरेको आरोपमा पक्राउ परेका क्यासिनो कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल र जयदेव साह भने जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।