अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्न नेपाल आउने भएका छन् ।
गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ । उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् ।
यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो । वार्नरले उक्त पोस्टमा लाइक पनि गरेका थिए ।
यस्तै काठमान्डु गोर्खाजले राखेको हिन्ट अनुसार वार्नर नै उक्त खेलाडी रहेको संकेत देखिएको थियो र अनलाइनखबरले यसबारेमा समाचार प्रकाशन गरेको थियो ।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप तीनवटै मुख्य प्रतियोगिता जितेका छन् ।
वार्नरले सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, सन् २०२१ को टी–२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन् ।
उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी पनि हुन् । वार्नरले टी–२०आईमा ११० खेल खेल्दा १ शतकसहित ३२०० भन्दा बढी रन बनाएका छन् ।
समग्र टी२० मा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार भन्दा बढी रन बनाएका छन् ।
उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएलसँगै पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन सीपीएल, भाइटालिटी ब्लास्टमा खेलेका छन् ।