राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबार दिइँदै आएको सार्वजनिक बिदा हटाएर पुरानै बिदा प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाका कारण सरकारी सेवा प्रवाह प्रभावित भएको दाबी गरे । उनले आइतबारको बिदा हटाएर शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदा हुने पुरानो व्यवस्था पुनः लागू गर्नुपर्ने धारणा राखे । उनका अनुसार आइतबार बिदा हुँदा सर्वसाधारणले सरकारी कार्यालयबाट सेवा लिन थप कठिनाइ भोग्नुपरेको छ । यसले प्रशासनिक कामसँगै विकास निर्माणका गतिविधिमा समेत असर परेको उनको भनाइ छ ।
सांसद भाटले आइतबारको बिदा सरकारी कर्मचारी, विद्यार्थी तथा आम नागरिकका लागि आवश्यक नरहेको जिकिर गरे। उनले जनताको सुविधालाई प्राथमिकतामा राख्दै बिदासम्बन्धी व्यवस्था तत्काल पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले जनभावना र सेवा प्रवाहलाई ध्यानमा राखेर आइतबारको बिदा खारेज गर्दै विगतमा प्रचलनमा रहेको कार्यतालिका कार्यान्वयन गर्न आग्रह गरे ।