नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले अघि बढाउन खोजेको विशेष महाधिवेशनको प्रक्रियाप्रति आपत्ति जनाउँदै त्यसमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
मंगलबार अपिल जारी गर्दै देउवाले पार्टीको विधि, विधान, स्थापित पद्धति तथा परम्पराविपरीत एकपक्षीय रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाउन खोजिएको दाबी गरेका छन् । उनले यस्तो गतिविधिले पार्टीलाई थप कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन् । कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद र असमझदारीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै देउवाले पार्टीको केन्द्रीय समितिले गरेका निर्णयलाई समेत बेवास्ता गरेर कुनै समूह विशेष रूपमा अघि बढ्नु उचित नहुने बताएका छन् ।
उनले विशेष महाधिवेशनको नाममा हुने भनिएको गतिविधिलाई पार्टी हितविपरीतको कदमको संज्ञा दिँदै त्यसमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । देउवाले कांग्रेसलाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति आफू मौन भएर नबस्ने स्पष्ट पारेका छन्। उनले पार्टीको एकता, विधि र संस्थागत प्रक्रियालाई कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद बढिरहेका बेला देउवाको यो अपिल सार्वजनिक भएको हो ।