नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करण नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्धलाई तीव्र बनाएका छन्। यसपटक विश्व क्रिकेटमा स्थापित नामहरू नेपाली मैदानमा देखिने भएपछि एनपीएलको चर्चा प्रतियोगिता सुरु हुनुअघि नै बढेको छ ।
एनपीएल सिजन–३ आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म सञ्चालन हुनेछ। आठ फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्ध गर्दै आफ्नो टोलीलाई बलियो बनाउने तयारी गरिरहेका छन् ।
यसैक्रममा काठमाडौं गोर्खाजले अस्ट्रेलियाका पूर्व ओपनर तथा विश्व क्रिकेटका चर्चित ब्याटर डेभिड वार्नरलाई अनुबन्ध गरेको छ। वार्नरको आगमनलाई एनपीएलको तेस्रो संस्करणको अहिलेसम्मकै चर्चित विदेशी अनुबन्धका रूपमा हेरिएको छ। काठमाडौं गोर्खाजले सेप्टेम्बर १५ मा वार्नरलाई टोलीमा भित्र्याएको घोषणा गरेको हो ।
यसअघि पोखरा एभेन्जर्सले बंगलादेशका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरिसकेको थियो। शाकिबले अन्तर्राष्ट्रिय तथा विश्वका विभिन्न फ्रेन्चाइज लिगमा लामो अनुभव बटुलेका छन्। एनपीएलमा उनको आगमनले पोखराको टोलीसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षणसमेत बढाएको छ । त्यस्तै, चितवन राइनोजले जिम्बाबेका अलराउन्डर सिकन्दर राजालाई अनुबन्ध गरेको छ। जिम्बाबेको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका राजा विश्वका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका अनुभवी खेलाडी हुन् ।
वार्नरको अनुभव
डेभिड वार्नर अस्ट्रेलियाका सफल ओपनिङ ब्याटरमध्ये एक हुन्। उनले अस्ट्रेलियाका लागि तीनै प्रारूपमा लामो समय खेलेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटसँगै इन्डियन प्रिमियर लिग आईपीएल मा समेत उनको प्रभावशाली प्रदर्शन रहँदै आएको छ।
आईपीएलमा सनराइजर्स हैदराबादको कप्तानी गर्दै उनले सन् २०१६ मा टोलीलाई उपाधि दिलाएका थिए। एनपीएलमा उनको आगमनले नेपाली खेलाडीलाई विश्वस्तरीय खेलाडीसँग एउटै ड्रेसिङ रुममा रहेर अनुभव लिने अवसरसमेत दिनेछ । काठमाडौं गोर्खाजले वार्नरसँगै भारतका विकेटकिपर ब्याटर केएस भरतलाई पनि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
शाकिबको अलराउन्ड क्षमता
शाकिब अल हसन विश्व क्रिकेटका स्थापित अलराउन्डरमध्ये एक हुन्। बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर शाकिबले बंगलादेशको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरिसकेका छन् । उनले विश्वका ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट टी–२० क्रिकेट खेलेको तथ्यांक छ। पोखरा एभेन्जर्सले उनलाई सिजन–३ का लागि अनुबन्ध गरेपछि टोलीको विदेशी खेलाडी संयोजन थप चर्चामा आएको हो ।
सिकन्दर राजाको अनुभव
जिम्बाबेका सिकन्दर राजा पनि आधुनिक क्रिकेटका चर्चित अलराउन्डर हुन्। पाकिस्तानमा जन्मिएका राजा पछि जिम्बाबेको राष्ट्रिय टोलीमा स्थापित भएका हुन् । उनले जिम्बाबेका लागि तीनै प्रारूपमा खेलेका छन् । फ्रेन्चाइज क्रिकेटमा समेत उनको अनुभव छ। चितवन राइनोजले उनलाई अनुबन्ध गरेपछि नेपाली दर्शकले उनको ब्याटिङ र बलिङ दुवै हेर्न पाउने भएका छन् ।
थप विदेशी स्टारको प्रतीक्षा
एनपीएलको तेस्रो संस्करणका लागि आठै टोली आफ्नो टोली निर्माणमा व्यस्त छन्। यसअघि नै ५२ खेलाडीलाई टोलीहरूले निरन्तरता दिएका थिए भने जुलाईमा घरेलु खेलाडीको अक्सनसमेत सम्पन्न भइसकेको छ ।
विश्व क्रिकेटका चर्चित खेलाडीहरू वार्नर, शाकिब र सिकन्दरको आगमनले एनपीएलको अन्तर्राष्ट्रिय आकर्षण बढाएको छ। प्रतियोगिता नजिकिँदै जाँदा अन्य टोलीले पनि विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी राख्ने भएकाले सिजन–३ को माहोल थप रोमाञ्चक बन्ने देखिएको छ ।
यसपटक एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन गर्ने तयारी छ।