सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न तथा नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रका योग्य व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरिएको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन सिफारिस भएका छन्।
जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय भएको छ।
सरकारले सिफारिस गरिएका राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट सहमति अर्थात् ‘एग्रिमो’ प्राप्त गर्न नाम पठाइनेछ।
सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।