विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको तथा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुनम राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार भोजपुरस्थित एक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग रकम माग गरिएको थियो। अनुसन्धानबाट उनीहरूले घुस लिएको पुष्टि भएको आयोगको दाबी छ ।
आयोगले तीनैजनाविरुद्ध १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कानुनबमोजिम कैद तथा सजायको माग गरेको जनाएको छ ।
यसअघि घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको थियो। लेखा अधिकृत कार्की र सब–इन्जिनियर श्रेष्ठलाई भने धनकुटा तथा भोजपुरबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनीहरूबाट ८५ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको थियो। अनुसन्धान पूरा भएपछि तीनैजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।