वीरगंजका मुख्य बजार क्षेत्रमा दिनहुँजसो हुने अत्यधिक सवारी जामको प्रमुख कारण जथाभावी पार्किङ र सडक किनारमै सवारी रोक्ने प्रवृत्ति देखिएको छ ।
व्यस्त बजार क्षेत्रमा सवारीसाधन सडक किनारमा अनियन्त्रित रूपमा पार्किङ गर्दा सडकको उपयोगी भाग साँघुरिँदै गएको छ । यसका कारण सामान्य अवस्थामा सहज रूपमा सञ्चालन हुनुपर्ने सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ ।
विशेषगरी किनमेलका लागि आउने ग्राहकले सडक किनारमै मोटरसाइकल तथा चारपांग्रे सवारी पार्क गर्ने, पसल तथा व्यवसायीले सामान लोड–अनलोड गर्दा सडकको भाग ओगट्ने र छोटो समयका लागि भन्दै सवारी रोक्ने प्रवृत्तिले जामको समस्या थप बढाएको छ ।
बजार क्षेत्रमा पार्किङको उचित व्यवस्थापन, सडक किनारमा सवारी रोक्नेलाई कडाइ तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न सके वीरगंजको जाम समस्या केही हदसम्म न्यूनीकरण गर्न सकिने देखिन्छ ।