मधेशको जीवनरेखाका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सिरहा क्षेत्र नं. १ का सांसद बब्लु गुप्ता र क्षेत्र नं. २ का सांसद शिवशङ्कर (शिव) यादवको सचिवालयका अनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भएको छलफलपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो । पुल आगामी मङ्सिर महिनादेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको सचिवालयले जनाएको छ ।
सांसदद्वय गृह जिल्ला आउँदा १५ वर्षदेखि रुग्ण अवस्थामा रहेको कमला पुल कहिले सञ्चालनमा आउँछ भन्ने प्रश्न स्थानीयस्तरबाट उठ्दै आएको थियो । त्यसपछि पुल सञ्चालनका लागि पहल भइरहेको र आगामी मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको छ ।
सांसद गुप्ताको सचिवालयका प्रमुख कृष्णा यादवका अनुसार ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा रहेको थियो । पूर्वाधार विकास मन्त्रालयले आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि बाँकी निर्माण कार्यले गति लिएको हो ।
नदीमा भाँचिएको दश नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सबस्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीन वटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको जनाइएको छ । आगामी साता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गरिनेछ ।
धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि भरिएको माटो वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेको छ । पुलको लोड परीक्षणसमेत सम्पन्न भएको जनाइएको छ ।
अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु लुम्बिनी जेभीले लिएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो । सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माण कार्यले गति लिएको हो ।
मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपियाँ बजेट सुनिश्चित गरिसकेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् । आगामी साता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।
कमला पुल भासिएपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वविभागीय मन्त्री तथा मधेश प्रदेशका मुख्यमन्त्रीलगायतले पटकपटक स्थलगत निरीक्षण गरे पनि पुल मर्मत तथा पुनःसञ्चालनको काम अघि बढ्न सकेको थिएन । पछिल्लो समय पुल सञ्चालनका लागि पहल बढेको सिरहा विकास मञ्चका अध्यक्ष तथा लेखक रामरिझन यादवले बताउनुभयो ।