वीरगंजको मुख्य सडकमा भवन भत्काइएको विरोधमा घरधनी तथा व्यापारीहरूले बुधबार मौन जुलुस निकाल्दै प्रदर्शन गरेका छन् ।
त्रिभुवन राजपथको नाममा वीरगंजको मुख्य सडक क्षेत्रमा रहेका संरचना भत्काई बजार क्षेत्र प्रभावित बनाएको भन्दै त्यसको विरोधमा जुलुस निकालिएको हो ।
होटल मकालुबाट सुरु भएको मौन जुलुस माइस्थान चोकसम्म पुगेको थियो । प्रदर्शनमा सहभागी घरधनी तथा व्यापारीहरूले राज्यबाट आफूहरूमाथि अन्याय भएको भन्दै दुःख र विरोध व्यक्त गरेका थिए ।
व्यापारी तथा घरधनीहरूले आजदेखि सांकेतिक विरोधस्वरूप आफ्ना घर तथा पसल अगाडि कालो झण्डा राख्ने बताएका छन्। उनीहरूले यो विरोध निरन्तर रहने जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रदर्शनकारीहरूले वीरगंजको मुख्य सडक विस्तारका क्रममा भएको संरचना भत्काउने कार्यप्रति असन्तुष्टि जनाउँदै स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।