नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि पर्सामा संगठनात्मक गतिविधि सुरु गरिएको छ । महाधिवेशन तयारीका क्रममा पर्साका पर्यवेक्षक प्रतिनिधि सुरेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कांग्रेसभित्र देखिएको विवाद संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको छ । वक्ताहरूले पार्टीका दुई पक्षबीच आपसी संवाद गरी समस्या समाधान गर्न तथा पार्टीको एकता कायम राख्न आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै सुरेन्द्र न्यौपानेले पार्टीभित्रको विवाद लामो समयसम्म कायम रहँदा त्यसको असर नेता, कार्यकर्ता र संगठनमा पर्ने बताए । उनले नेतृत्वले व्यक्तिगत टकरावभन्दा संगठन निर्माण र कार्यकर्तालाई जिम्मेवारी दिने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
उनले पार्टीका दुवै पक्षका नेताबीच संवाद र सहमतिको वातावरण बनाउन आग्रह गर्दै समस्या समाधानका लागि आफूहरूले पहल गर्ने बताए ।
यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति र कार्यतालिकालाई लिएर पार्टीभित्र फरक–फरक कार्यक्रम सार्वजनिक भएका छन् । डा. शशांक कोइराला संयोजक रहेको तयारी समितिले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने प्रस्तावसहित कार्यतालिका सार्वजनिक गरेको छ ।
उक्त प्रस्तावअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ/नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने उल्लेख छ ।
तर नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भने १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने गरी अर्को कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअनुसार वडा अधिवेशन भदौ २४, गाउँ–नगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१, जिल्ला अधिवेशन असोज ७ र प्रदेश अधिवेशन असोज १० गते तोकिएको छ ।
यसरी कांग्रेसभित्र १५औँ महाधिवेशनको मिति र अधिवेशन कार्यतालिकालाई लिएर दुई फरक कार्यक्रम अघि बढिरहेका छन् ।