अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक प्रकृतिको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा कालिकोटका तत्कालीन मालपोत कार्यालय प्रमुख नेत्रबहादुर शाहीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तत्कालीन कार्यालय प्रमुख शाही, कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाही, नायब सुब्बा मुकुन्द बस्नेत र करारका कार्यालय सहयोगी भक्तबहादुर शाहीलाई प्रतिवादी बनाएको हो ।
अख्तियारका अनुसार तत्कालीन कार्यालय प्रमुख नेत्रबहादुर शाही, कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाही र नायब सुब्बा मुकुन्द बस्नेतविरुद्ध जनही १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ। कार्यालय सहयोगी भक्तबहादुर शाहीविरुद्ध भने ७५ लाख ९२ हजार ४ सय रुपैयाँ बिगो माग गरिएको छ ।
त्यस्तै, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समितिका अध्यक्ष धिरबहादुर बम, विज्ञ सदस्य रमेश नेपाली र सदस्य राजेन्द्रबहादुर थापाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ। उनीहरूविरुद्ध १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ बिगो तथा कानुनबमोजिम सजायको मागदाबी गरिएको छ ।
आयोगले सरकारी जग्गा प्राप्त गर्ने व्यक्तिहरू अंखपुरा शाही, प्रदिपे दमाइ र दीपबहादुर शाही तथा जग्गा खरिद गर्ने नरेन्द्रबहादुर थापालाई समेत प्रतिवादी बनाएको छ ।
आरोपपत्रअनुसार कित्ता नम्बर १७७२ को जग्गा प्राप्त गर्ने अंखपुरा शाहीविरुद्ध ४३ लाख ८८ हजार ४ सय रुपैयाँ, कित्ता नम्बर ५७२ को जग्गा प्राप्त गर्ने प्रदिपे दमाइविरुद्ध ५७ लाख ६ हजार रुपैयाँ र कित्ता नम्बर ९२१ को जग्गा प्राप्त गर्ने दीपबहादुर शाहीविरुद्ध ७५ लाख ९२ हजार ४ सय रुपैयाँ बिगो माग गरिएको छ ।
अख्तियारका अनुसार सरकारी प्रकृतिको जग्गा आपसी मिलेमतोमा व्यक्तिको नाममा दर्ता तथा सिफारिस गरी आफूहरूलाई गैरकानुनी लाभ पुर्याउने र सरकारलाई हानिनोक्सानी पुर्याउने उद्देश्य राखिएको अनुसन्धानबाट देखिएको छ ।
आयोगले सोही आरोपका आधारमा १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।