वीरगंमा पछिल्लो समय स्वास्थ्य संस्था तथा अस्पतालको संख्या बढ्दै गए पनि बिरामीले अपेक्षाअनुसारको गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको गुनासो बढ्दै गएको छ ।
वीरगंज महानगरपालिका तथा आसपासका क्षेत्रबाट उपचारका लागि विभिन्न अस्पतालमा आउने बिरामीले उपचारको सहजता, चिकित्सकको उपलब्धता, आवश्यक उपकरण, परीक्षण सेवा तथा उपचार खर्चलगायत विषयमा समस्या भोग्नुपरेको बताउने गरेका छन्।
विशेषगरी अस्पतालमा बिरामीको चाप बढ्दा सेवा लिन लामो समय कुर्नुपर्ने, आवश्यक विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको उपलब्धता सधैँ सुनिश्चित नहुने र कतिपय अवस्थामा आवश्यक परीक्षण तथा उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रिफर हुनुपर्ने अवस्था रहेको बिरामीको गुनासो छ ।
त्यस्तै, अस्पतालमा आधुनिक उपकरण जडान भए पनि त्यसको प्रभावकारी सञ्चालन, दक्ष जनशक्तिको उपलब्धता तथा नियमित मर्मतसम्भारमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। उपचारका क्रममा लाग्ने विभिन्न शुल्क र औषधिको खर्चले समेत आर्थिक रूपमा कमजोर बिरामीलाई थप समस्या पर्ने गरेको गुनासो सुनिन्छ ।
वीरगंजमा निजी तथा सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सेवा विस्तार हुँदै गए पनि सेवाको पहुँचसँगै गुणस्तर, पारदर्शिता र बिरामीमैत्री सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
बिरामीले सहज, सुरक्षित र गुणस्तरीय उपचार पाउने वातावरण निर्माण गर्न अस्पतालको सेवा–सुविधाको नियमित अनुगमन, आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापन र बिरामीका गुनासोको प्रभावकारी सम्बोधनमा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।