मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छापेर वितरण सुरु गरेको छ। पहिलो चरणमा श्रम तथा यातायात मन्त्रालयले तीन हजार ८१ वटा चालक अनुमतिपत्र छापेर प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयलाई वितरणका लागि हस्तान्तरण गरेको हो।
श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले पहिलो चरणमा छापिएका चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय, जनकपुरका प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गर्नुभयो। उहाँले छापिएका चालक अनुमतिपत्र सेवाग्राहीलाई यथाशीघ्र वितरण गर्न निर्देशन दिनुभयो।
मन्त्री थापाले प्रदेश सरकारले अब आफैँ चालक अनुमतिपत्र छापेर वितरण गर्ने व्यवस्था सुरु गरेकाले सेवाग्राहीले लामो समयसम्म लाइसेन्सका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो। प्रदेशमै चालक अनुमतिपत्र छपाइको व्यवस्था भएपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने उहाँको भनाइ छ।
मधेश प्रदेशमा आठ वटा यातायात व्यवस्था कार्यालय छन्। पहिलो चरणमा वीरगञ्ज यातायात व्यवस्था कार्यालयका लागि एक हजार १७२, जनकपुरका लागि ९३२, लहानका लागि ४६०, बर्दिबासका लागि ३०३, गौरका लागि ११९, राजविराजका लागि ५२, मलङ्गवाका लागि ३२ र कलैयाका लागि ११ वटा चालक अनुमतिपत्र छापिएको यातायात मन्त्रालयले जनाएको छ।