हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्व दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै धनुषामा विशेष सुरक्षा योजना लागू गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत पिकेट, पैदल गस्ती, बजार अनुगमन, मोबाइल टोली तथा रिफ्रेस प्वाइन्ट परिचालन गरिने जानकारी दिए ।
उनका अनुसार जिल्लाका संवेदनशील ७० स्थानमा पिकेट टोली खटाइनेछ भने आवश्यकता र औचित्यका आधारमा आकस्मिक रूपमा परिचालन गर्न ४६ वटा पैदल गस्ती टोली तयारी अवस्थामा राखिनेछ । बजार अनुगमनका लागि ७ वटा टोली परिचालन गरिनेछ ।
त्यस्तै, स्वीप अपरेसनका लागि ७ स्थान पहिचान गरिएको छ। विपद् प्रतिकार्यका लागि १५ वटा टोली, १३ वटा गाडी मोबाइल टोली, लालगढमा एक रिफ्रेस सेन्टर तथा लामो दूरीका सवारीसाधन चेकजाँचका लागि २ स्थानमा व्यवस्था गरिने एसपी खड्काले बताए। दैनिक आरएससीसी चेकिङसमेत गरिनेछ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि समेत छुट्टै सुरक्षा कार्ययोजना बनाइएको उनले जानकारी दिए। चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत कुल १ हजार २ सय ११ प्रहरी परिचालन गरिनेछ।
५९९ मुद्दा दर्ता, ५९० फर्छ्यौट
पत्रकार सम्मेलनमा एसपी खड्काले जेठ २३ गतेदेखि असोज १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय धनुषाबाट भएका गतिविधिको विवरणसमेत सार्वजनिक गरे । उनका अनुसार उक्त अवधिमा ५९९ वटा मुद्दा दर्ता भएकोमा ५९० वटा फर्छ्यौट भएका छन् । अनुसन्धानका क्रममा ६६ वटा मुद्दा चालु अवस्थामा छन् भने विगतदेखि हालसम्म १ हजार २७० वटा मुद्दा पेन्डिङमा रहेको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ उक्त अवधिमा ६३८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट अदालतले तोकेको २३० वर्ष ९ महिना २६ दिन कैद तथा २ करोड १४ लाख ९१ हजार ५४२ रुपैयाँ जरिवाना कार्यान्वयनका लागि असुलउपर गरिएको एसपी खड्काले बताए ।
लागूऔषधसहित ३९ जना पक्राउ
सीमा क्षेत्रमा हुने चोरी निकासी तथा अवैध कारोबार नियन्त्रणका क्रममा प्रहरीले ८६ लाख ९६ हजार ८६६ रुपैयाँ बराबरका सवारीसाधन, लत्ताकपडा तथा किराना सामग्री बरामद गरेको जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ। सो क्रममा ११ वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न स्थानबाट ३९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ४७५ दशमलव ५१६ किलो गाँजा, ४२३ दशमलव १ ग्राम ब्राउन सुगर, ८१० थान नाइट्रोभेट ट्याब्लेट तथा डाइजिपामलगायत २ हजार ४८७ थान इन्जेक्सन एम्पुल बरामद गरिएको एसपी खड्काले जानकारी दिए।
घरेलु हिंसाका ३७७ उजुरी
प्रहरीका अनुसार उक्त अवधिमा घरेलु हिंसासम्बन्धी ३७७ वटा उजुरी परेका थिए। तीमध्ये ३४९ वटा उजुरीमा मिलापत्र गरिएको छ भने २८ वटा उजुरी अनुसन्धानको क्रममा रहेका छन्। त्यस्तै, सामाजिक हिंसासम्बन्धी ३२० वटा उजुरी परेकोमा २९६ वटामा मिलापत्र गरिएको र २४ वटा उजुरी अनुसन्धानका क्रममा रहेको प्रहरीले जनाएको छ।
मानिस खोजतलासतर्फ धनुषामा विभिन्न समयमा हराएका २०१ जनाको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। हराउनेमा ८७ महिला, २० बालक र ८९ बालिका रहेका छन्। प्रहरीको खोजतलासबाट हालसम्म १३३ जना फेला परिसकेका छन् भने ६८ जनाको खोजतलास जारी रहेको छ।
भिडियाे रिपाेर्ट