संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् ।
उनले विमानस्थल निर्माणका क्रममा प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई अन्यायमा नपारी उचित व्यवस्थापन तथा पुनःस्थापना गरिने प्रतिबद्धता जनाएका छन् ।
सिमरामा आयोजित पर्यटन तथा होटल व्यवसायीसँगको छलफल कार्यक्रममा मन्त्री पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको पर्यटन विकासका लागि महत्वपूर्ण आयोजना भएको उल्लेख गर्दै यसको निर्माण अनिवार्य रहेको बताए ।
‘निजगढ विमानस्थल बन्छ, त्यहाँ भएका प्रभावित जनता अन्यायमा नपर्ने गरी पुनःस्थापना हुन्छन्,’ उनले भने, ‘निजगढ विमानस्थल हाम्रो लाइफलाइन हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब योभन्दा बढी क्षमतामा सञ्चालन हुन सक्ने अवस्थामा छैन ।’
उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै सीमितता रहेको उल्लेख गर्दै नेपालको पर्यटन विकासको दीर्घकालीन केन्द्रका रूपमा निजगढ विमानस्थल रहने बताए ।
‘हामीले जुन आकाङ्क्षाका साथ पर्यटनको विकास गर्न खोजिरहेका छौँ, त्यसको केन्द्रका रूपमा निजगढ विमानस्थल रहेको छ,’ उनले भने, ‘निजगढ विमानस्थल बन्छ र बनाउनैपर्छ । यसका लागि सबैको सहयोग आवश्यक छ ।’
मन्त्री पौडेलले विमानस्थल निर्माणमा ढिलाइ हुनुको एउटा कारण बजेट सुनिश्चितता नहुनु रहेको पनि बताए ।
टाँगिया बस्तीका नागरिकको व्यवस्थापनबारे प्रश्न
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रतिबद्धता जनाइरहेका बेला आयोजनाको चार किल्लाभित्र पर्ने टाँगिया बस्तीका नागरिकको व्यवस्थापनको विषय पनि चर्चामा आएको छ ।
उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय जनप्रतिनिधिले अव्यवस्थित बसोबासीका रूपमा जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन जिल्ला स्थित भूमि आयोगमा सिफारिस पठाएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा प्रस्तावित विमानस्थल क्षेत्रभित्र पर्ने वन क्षेत्रमा रहेको बस्तीलाई बसोबासका आधारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया अघि बढाइएको विषयले आयोजनाको कार्यान्वयन र प्रभावित नागरिकको व्यवस्थापनबारे थप प्रश्न उठाएको छ ।
मन्त्री पौडेलले भने विमानस्थल निर्माणसँगै प्रभावित नागरिकलाई अन्याय नहुने गरी पुनःस्थापना गरिने स्पष्ट पारेका छन् ।
तीन वर्षभित्र द्रुतमार्ग निर्माण सक्ने लक्ष्य
मन्त्री पौडेलले काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।
द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि मधेस प्रदेशमा पर्यटकको आवागमन उल्लेखनीय रूपमा बढ्ने उनको अपेक्षा छ । उनले पर्यटन तथा होटल व्यवसायीलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरे ।
‘मधेस प्रदेशको पर्यटकीय क्षेत्रमा गरेको लगानी खेर जाँदैन। यसमा म प्रतिबद्धता जनाउँछु,’ उनले भने, ‘प्रफुल्ल भएर, उत्साहित भएर र सरकारप्रति विश्वास गरेर होटल व्यवसायी साथीहरूले लगानी बढाउनुस् ।’
पर्सा राष्ट्रिय निकुञ्ज र सिम्रौनगढको पर्यटन प्रवर्द्धनमा जोड
कार्यक्रममा सहभागी पर्यटन तथा होटल व्यवसायीहरूले पर्सा राष्ट्रिय निकुञ्ज, प्रसिद्ध धार्मिकस्थल महागढीमाई मन्दिर र लिच्छविकालीन ऐतिहासिक नगरी सिम्रौनगढको पर्यटन प्रवर्द्धनका लागि संघीय सरकारको सहयोग माग गरेका थिए ।
मन्त्री पौडेलले देशभरका साना–ठूला मठमन्दिरको पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने बताए । उनका अनुसार पर्यटन प्रवर्द्धनका नाममा देशभरका मठमन्दिर पुनर्निर्माण गर्न करिब ३८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
सबै क्षेत्रबाट माग भएअनुसार बजेट उपलब्ध गराउन सम्भव नहुने उनको भनाइ थियो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले पर्यटन मन्त्रालय मात्रै सबै स्थानमा पुग्न नसक्ने भएकाले साना पर्यटनसम्बन्धी योजनामा स्थानीय तथा प्रदेश सरकारले अग्रसरता लिनुपर्ने बताए ।
‘स्थानीय र प्रदेश सरकारले हरेक मन्दिर र मस्जिदमा लगानी गर्नुको साटो दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ,’ उनले भने, ‘महागढीमाई र सिम्रौनगढजस्ता पर्यटकीय क्षेत्रमा स्थानीयलाई रोजगारीसँग जोडेर काम गर्नेबारे हामीले सोच्नुपर्छ ।’
कार्यक्रममा पर्यटन व्यवसायीहरूले मधेस प्रदेशका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार, प्रचारप्रसार र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका थिए ।