सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । मोटरसाइकलमा सवार अर्का एक जना भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मंगलबार राति करिब १०ः३५ बजे मिर्चैया नगरपालिका–३, बलुवा टोलस्थित भित्री सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बलुवाबाट मिर्चैयातर्फ आउँदै गरेको प्रदेश २–०२–०१० प ३९८१ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए । प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोज्दा दुई जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाको जाँच गर्ने क्रममा पहेँलो प्लास्टिकको पोकाभित्र लुकाएर राखिएको २४.११० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ निवासी १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ निवासी २० वर्षीय नितेश कुमार साह रहेका छन् ।
त्यसैगरी, फरार हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ निवासी २० वर्षीय काशिन्द्र साह रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।
पक्राउ परेका दुवै युवक, बरामद लागुऔषध र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।