विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्यमा आएको परिवर्तनअनुसार नेपालमा आयात हुने गाडीको वास्तविक लागत घटेको भए पनि वीरगंज भन्सार कार्यालयले पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व माग गरेको भन्दै आयातकर्ता कम्पनीले आपत्ति जनाएको छ ।
कायरोस इन्टरनेशनल प्रालिले चीनको सांघाईमा उत्पादन भएको टेस्ला मोडल वाई आरडब्लुडी आयात गर्दा वीरगंज भन्सार कार्यालयले जाँचपासपछि पुनः थप राजस्व माग गरेको जनाएको हो। कम्पनीका अनुसार भन्सार कार्यालयले असोज ११ गते पत्र पठाउँदै यसअघि कम दाखिला भएको भनिएको भन्सार राजस्व दाखिला गर्न ताकेता गरेको छ ।
आयातकर्ता पक्षका अनुसार दुईवटा गाडीमा मात्रै प्रतिगाडी करिब ७८ देखि ७९ लाख रुपैयाँका दरले थप राजस्व माग गरिएको छ । यसबाट करिब डेढ करोड रुपैयाँभन्दा बढी थप दायित्व सिर्जना भएको कम्पनीको दाबी छ।
चीनमा उत्पादन हुँदा आयात लागत घटेको दाबी
कम्पनीका भन्सार प्रतिनिधि मधुकुमार बरालका अनुसार हाल आयात गरिएका गाडी चीनको सांघाईमा उत्पादन भई हङकङ हुँदै नेपाल ल्याइएका हुन्। यसअघि अमेरिकामा उत्पादन भई लामो आपूर्ति शृंखलामार्फत नेपाल आएका समान मोडलका गाडीको तुलनामा पछिल्लो आयातको खरिद तथा ढुवानी लागत कम परेको उनको भनाइ छ।
बरालका अनुसार करिब छ महिनाअघि एरेटे इन्टरनेशनल प्रालिले अमेरिकाबाट टेस्लाको गाडी आयात गर्दा ३४ हजार ५०० अमेरिकी डलर अर्थात् करिब ५० लाख ६२ हजार १८५ रुपैयाँ मूल्य कायम भएको थियो। उक्त गाडीमा विभिन्न शीर्षकमा गरी कुल ७९ लाख ११ हजार ३८६ रुपैयाँ राजस्व दाखिला गरिएको उनको भनाइ छ।
तर अहिले चीनको सांघाईमा उत्पादन भएको सोही ब्रान्ड तथा मोडलको गाडीको खरिद मूल्य नै कम परेको आयातकर्ता पक्षको दाबी छ। अन्तर्राष्ट्रिय बजारमा नयाँ मोडल तथा मूल्य समायोजनका कारण एउटै ब्रान्डका गाडीको मूल्य समय र बजारअनुसार फरक पर्न सक्ने भन्दै प्रत्येक आयातको वास्तविक खरिद मूल्य तथा सम्बन्धित कागजातका आधारमा मूल्यांकन हुनुपर्ने कम्पनीको तर्क छ।
गाडीको आधारभूत मूल्य ३८–३९ लाख रुपैयाँ रहेको दाबी
कायरोस इन्टरनेशनलका अनुसार हाल आयात गरिएको टेस्ला मोडल वाई आरडब्लुडीको हङकङमा रहेको एमआरपी २ लाख ५४ हजार हङकङ डलर भए पनि भ्याट तथा एजेन्सी छुटलगायत रकम घटाउँदा मूल्य करिब २ लाख ५०० हङकङ डलर कायम हुन्छ।
कम्पनीले उपलब्ध गराएको विवरणअनुसार नेपाली रुपैयाँमा रूपान्तरण गर्दा गाडीको आधारभूत मूल्य करिब ३८ देखि ३९ लाख रुपैयाँ पर्न जान्छ। उक्त मूल्यका आधारमा विभिन्न शीर्षकमा गरी कुल कर तथा राजस्व करिब ३५ लाख ८४ हजार ९६२ रुपैयाँ पर्ने कम्पनीको हिसाब छ।
आयातकर्ता पक्षले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय सवारीसाधनको मूल्य समयअनुसार घटबढ हुने भएकाले केही महिनाअघि आयात भएको गाडीको मूल्यलाई आधार बनाएर पछिल्लो आयातको मूल्यांकन गर्नु व्यावहारिक नहुने बताएको छ।
जाँचपास भइसकेका र बिक्री भएका गाडीमा थप राजस्वको माग
कायरोस इन्टरनेशनलका अनुसार चालु आर्थिक वर्षको जुलाई २९ र सेप्टेम्बर ९ मा गरी दुई खेपमा टेस्ला मोडल वाई आरडब्लुडी नेपाल ल्याइएको थियो। ती गाडी वीरगंज भन्सार कार्यालयबाट जाँचपास भई ग्राहकलाई एमआरपीअनुसार बिक्रीसमेत भइसकेका छन्।
तर जाँचपास भएको केही समयपछि भन्सार कार्यालयको आन्तरिक लेखापरीक्षणबाट राजस्व कम असुल भएको निष्कर्ष निकालिएको भन्दै थप रकम दाखिला गर्न पत्र पठाइएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार गाडी बिक्री भइसकेकाले ग्राहकबाट पुनः थप रकम उठाउन कठिन छ। ग्राहकले गाडी खरिद गर्दा तोकिएको मूल्यअनुसार सम्पूर्ण रकम भुक्तानी गरिसकेको आयातकर्ता पक्षले जनाएको छ।
आयातकर्ताले भन्सार मूल्यांकन गर्दा गाडी उत्पादन भएको देश, वास्तविक खरिद मूल्य, ढुवानी खर्च, आयातसम्बन्धी कागजात तथा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध मूल्यलगायतका आधारलाई ध्यान दिनुपर्ने तर्क गरेको छ।
थप राजस्व फिर्ता नभए आन्दोलनको चेतावनी
थप राजस्वको माग फिर्ता नभए व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। आयातकर्ता पक्षले जाँचपास भएर बिक्री भइसकेका गाडीमा पछि गएर ठूलो कर दायित्व सिर्जना हुँदा व्यवसायी र ग्राहक दुवै प्रभावित हुने जनाएको छ।
व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य परिवर्तन भएको अवस्थामा वास्तविक खरिद मूल्यका आधारमा भन्सार मूल्यांकन गर्ने कि विगतको आयात मूल्यलाई आधार बनाउने भन्ने विषयमा स्पष्ट नीति र व्यवहारिक कार्यविधि आवश्यक रहेको बताएका छन्।