बारा । नेपाल संघीय समाजवादी पार्टीको बारा जिल्ला समितिको बैठकले पार्टी संगठनलाई सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ ।
कलैयामा शुक्रबार बसेको बैठकले जिल्ला समिति विस्तार, जिल्ला अधिवेशन तथा आगामी कार्ययोजनाबारे छलफल गर्दै नुरुल्लाह मियाँको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको पार्टी अध्यक्ष मोहम्मद रिजवान अन्सारीले जानकारी दिएका छन् ।
नवनिर्मित जिल्ला समितिको उपाध्यक्षमा जमालुद्दिन मियाँ, कोषाध्यक्षमा नसारुद्दिन देवान र सचिवमा बौवा लाल ठाकुर चयन भएका छन्। बैठकले आगामी मंसिर २० गते कलैयामा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीले आगामी तीन महिनाभित्र बारा जिल्लाका सबै स्थानीय तह, निर्वाचन क्षेत्र तथा वडासम्म संगठन निर्माण र विस्तार गर्ने लक्ष्य लिएको छ। साधारण तथा सक्रिय सदस्यता वितरणलाई तीव्रता दिँदै संगठनलाई जनताको घरदैलोसम्म पुर्याउने निर्णय गरिएको जनाइएको छ ।
त्यस्तै, पार्टीका गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कलैयामा जिल्ला पार्टी कार्यालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ। संगठन विस्तार, राजनीतिक सुदृढीकरण तथा जनतासँगको सम्बन्ध थप मजबुत बनाउने गरी आगामी कार्यक्रम सञ्चालन गर्ने पार्टीले जनाएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै प्राप्त उपलब्धि तथा जनताका अधिकारको संरक्षणका लागि संगठनलाई बलियो बनाउनुपर्ने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र जनअधिकारजस्ता उपलब्धिलाई संस्थागत गर्दै निरन्तर राजनीतिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।
बैठकमा मधेश प्रदेशकी पूर्वगृहमन्त्री एवं प्रदेशसभा सदस्य विमला अन्सारी, पार्टीका केन्द्रीय सदस्य नासिर शेख, मुफ्ती मुइनुद्दिन, बारा जिल्ला इन्चार्ज कलामुद्दिन हवारीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।