पर्सामा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
वीरगंज महानगरपालिका–३१ स्थित भेडाहा खोलामा सुरक्षा बेस बेलवाबाट खटिएको सशस्त्र प्रहरी टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा ना.५ त ४८४० नम्बरको सोनालिका ट्र्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको ट्र्याक्टर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति कार्यालय, वीरगंजमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज क्षेत्रीले जानकारी दिए।
यसैगरी, वीरगंज महानगरपालिका–२५ खल्वास्थित बीओपी ड्राइपोर्टबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको विभिन्न प्रकारका औषधि बरामद गरेको छ।
दुई जना व्यक्तिले टाउकोमा बोकेर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका औषधिको मूल्य करिब ४ लाख २७ हजार ३८० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद औषधि आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।