दशैं–तिहार तथा छठ पर्व नजिकिँदै गए पनि पर्सा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अझै अन्तिम रूप दिन सकेको छैन । दशैंको मुख्य चहलपहल सुरु हुन केही दिन मात्रै बाँकी रहँदा पनि प्रहरी सुरक्षा व्यवस्थापनको खाका निर्माणकै चरणमा रहेको जनाएको हो ।
चाडपर्वका बेला बीरगंजसहित जिल्लाका बजार, सार्वजनिक यातायात, धार्मिक स्थल तथा सीमा क्षेत्रमा मानिसको आवागमन उल्लेख्य रूपमा बढ्ने गर्छ। यस्तो अवस्थामा चोरी, लुटपाट, ठगी, सवारी दुर्घटना, झैझगडा तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्न सक्ने भएकाले सुरक्षा व्यवस्थापनको पूर्वतयारी आवश्यक हुन्छ।
तर काठमाडौंसहित देशका विभिन्न जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक भइरहेका बेला पर्सा प्रहरी भने अझै योजना निर्माणको प्रक्रियामै रहेको बताइरहेको छ। यसले जिल्लाको सुरक्षा तयारीलाई लिएर प्रश्न उठाएको छ।
जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई समेत ध्यानमा राख्दै भीडभाड हुने क्षेत्र, बजार, धार्मिक स्थल र सीमा नाकामा कति प्रहरी परिचालन गर्ने, नियमित गस्ती कसरी बढाउने तथा आकस्मिक अवस्था आएमा तत्काल कसरी सुरक्षा परिचालन गर्ने भन्ने विषयमा स्पष्ट योजना समयमै तयार हुनुपर्ने सुरक्षा जानकारहरूको भनाइ छ ।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले भने सुरक्षा योजना अहिले निर्माणकै क्रममा रहेको बताएका छन् । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा प्रहरी परिचालनको आवश्यकता, सुरक्षा व्यवस्थापनको मोडालिटी र संवेदनशील क्षेत्रबारे अध्ययन भइरहेको छ।
‘अहिले योजना फाइनल भइसकेको छैन। योजना बनाउने प्रक्रियामै छौँ। कहाँ र कसरी प्रहरी परिचालन गर्ने तथा कुन मोडालिटीमा जाने भन्ने विषयमा अध्ययन भइरहेको छ,’ डिएसपी मल्लले भने, ‘सबै खाका तयार भएपछि सुरक्षा योजना सार्वजनिक गर्छौं ।’
चाडपर्वको समयमा वीरगञ्ज बजार तथा ग्रामीण क्षेत्रमा किनमेल गर्नेको भीड बढ्नुका साथै सार्वजनिक यातायातमा यात्रुको चापसमेत बढ्ने गर्छ। भारतसँगको सीमा जोडिएको जिल्ला भएकाले नाकामा समेत आवागमन र गतिविधि बढ्ने भएकाले थप सुरक्षा चुनौती आउन सक्ने अवस्था हुन्छ ।
पूर्वप्रहरी अधिकारीहरू भने चाडपर्वको सुरक्षा व्यवस्थापनमा घटना भएपछि प्रतिक्रिया जनाउनेभन्दा सम्भावित जोखिम पहिचान गरेर पूर्वतयारी गर्नु महत्वपूर्ण हुने बताउँछन्। उनीहरूका अनुसार संवेदनशील क्षेत्रको पहिचान, प्रहरी परिचालन, नियमित गस्ती, सीमा निगरानी र आकस्मिक अवस्थाको व्यवस्थापनबारे योजना पहिल्यै स्पष्ट हुनुपर्छ ।
दशैं सुरु हुनै लाग्दा पनि पर्सा प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्न नसक्नुले जिल्लाको सुरक्षा तयारी कति प्रभावकारी छ भन्ने प्रश्न भने उठाएको छ। अब प्रहरीले योजना कहिले सार्वजनिक गर्छ र चाडपर्वमा सम्भावित सुरक्षा चुनौती सामना गर्न कस्तो रणनीति अपनाउँछ भन्ने विषयमा चासो बढेको छ।