स्थानीयको अवरोध, न्याय निरूपणमा भएको ढिलाइ, वनक्षेत्र प्रयोगको अनुमति प्राप्तिलगायतका कारण १२ वर्षसम्म निर्माणाधीनकै हैसियतमा अल्झिएको हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुग्ने देखिएको छ ।
पछिल्लो पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रयास, स्थानीयसँगको सहमति र वनक्षेत्र उपयोगमा मन्त्रीपरिषद्को निर्णय जस्ता प्रव्रिmयाले सार्थक स्वरूप पाउँदा पूर्वपश्चिम विद्युत् प्रवाहको महामार्ग यो प्रसारण लाइन एक महिनाभित्र निर्माण सम्पन्न हुने मन्त्रालयले जनाएको छ ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसहितको टोली मुख्य अवरोध रहेको क्षेत्र ढल्केबर सबस्टेसन र हेटौँडाको थान भ¥याङमा निर्माणाधीन दुई मल्टिसर्किट टावर निर्माणको अवलोकन गर्न निर्माणस्थल पुगेको थियो । निरीक्षणपछि मन्त्री श्रेष्ठले यो आयोजना दसैँलगत्तै सम्पन्न हुने अवस्था पुगेको जानकारी गराउनुभयो ।
हेटौँडा उपमहानगरपालिका–१५, १६ तथा १७ स्थित हटिया क्षेत्रमा १४ वटा, हेटौँडा–११ स्थित थानाभ¥याङमा दुई वटा टावर निर्माणमा अवरोध रहँदै आएको थियो । थानाभ¥याङबाट हेटौँडा सबस्टेसनमा लाइन छिराउन दुई वटा मल्टी सर्किट टावर निर्माण गर्नुपर्ने थियो । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुने अवस्था थियो । यहाँका बसोबासीलाई क्षतिपूर्तिको व्यवस्था गरिएपछि त्यहाँ टावर निर्माण सम्भव भएको हो ।
त्यस्तै हटियाक्षेत्रमा राइटअफ वे परिवर्तन गर्नसमेत स्थानीयले माग गरेका थिए । सामुदायिक वनक्षेत्र प्रयोगमा पनि ठुलो समस्या रहँदै आएको थियो । वनक्षेत्र प्रयोग र रुख कटानका लागि समयमा स्वीकृति पाउन नसक्दा काम अवरुद्ध हुँदै आएको थियो तर गत असार २४ गतेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणलाई मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटे सामुदायिक वन उपभोक्ता समूह तथा बकैया–२ स्थित सरस्वती सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको राष्ट्रिय वनको २।२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको थियो ।
साथै उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २९२ वटा रुख हटाउन पनि स्वीकृति प्रदान गरेको थियो । यी अवरोध हटेसँगै प्राधिकरणले निर्माणलाई तदारुकता दिएको हो ।
अनुगमनमा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौँडा ढल्केबर प्रसारण लाइनको काम अब निर्माण सम्पन्न हुने अवस्थामा पुगेको बताउनुभयो । “अब पूर्वपश्चिम विद्युत् प्रवाहको यो मेरुदण्ड तयार हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो, “हेटौँडा–ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटको टावर निर्माण भइसकेको छ । दुइटा मल्टिसर्किट टावर निर्माण अन्तिम चरणमा छ । करिब १५ दिनमा तयार गरी चार्ज गर्ने योजना छ ।”
मन्त्री श्रेष्ठले राज्यको अर्बौं रुपियाँ खर्च भएको तर परिणाम निस्कन नसकेको काम अब सफल भएको बताउनुभयो । “अब बुटवलको बिजुली इनरुवा, इनरुवाको बिजुली बुटवलसम्म जाने ठुलो मार्ग तयार भएको छ,” उहाँले भन्नुभयो, “गुणस्तरीय र दिगो विद्युत् प्रवाहदेखि अन्तरदेशीय विद्युत् व्यापार प्रवर्धनका लागि समेत यो प्रसारण लाइनले ठुलो सफलता दिलाउने छ ।” प्रसारण लाइन सम्पन्न हुन नसक्दा हेटौँडा ढल्केबर विद्युत् प्रवाह अधिकतम तीन सय मेगावाटमा सीमित थियो तर यो प्रसारण लाइनबाट दुई हजार मेगावाट विद्युत् प्रवाह हुने छ ।
करिब तीन सय किलोमिटर लामो हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनमध्ये पूर्वी खण्ड ढल्केबर–इनरुवा १५४ किलोमिटर प्रसारण लाइन दुई वर्षपहिले नै निर्माण सम्पन्न भएर उपयोगमा आइसकेको छ ।