दसैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै जाँदा वीरगंज नाकाबाट तेस्रो मुलुकको तयारी मदिरा आयात बढेको छ। चाडपर्वका बेला मदिराको खपत बढ्ने भएकाले पछिल्लो समय यसको आयातमा समेत वृद्धि भएको हो ।
वीरगन्ज भन्सार कार्यालयअन्तर्गत सिर्सिया सुक्खा बन्दरगाह मुलुकमा सबैभन्दा धेरै तयारी मदिरा आयात हुने प्रमुख नाकामध्ये एक हो। चाडपर्वलाई लक्षित गर्दै आयातकर्ताले बियर, वाइन, ह्विस्की र भोड्कालगायतका मदिरा भित्र्याउने क्रम बढाएका छन् ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोज ४ गतेदेखि मात्रै वीरगंज नाका हुँदै १० करोड ४८ लाख रुपैयाँ बराबरको तयारी मदिरा आयात भइसकेको छ। उक्त आयातबाट सरकारले २२ करोड रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए ।
मदिराको आयात अझै जारी रहेकाले चाडपर्व नजिकिँदै जाँदा यसको परिमाण थप बढ्न सक्ने अनुमान गरिएको छ ।
सिर्सिया सुक्खा बन्दरगाहबाट मुख्यतः तेस्रो मुलुकबाट आयात गरिएका बियर, वाइन, ह्विस्की र भोड्का नेपाल भित्रिने गरेका छन्। यस्ता मदिरा समुद्री मार्ग हुँदै भारतको कोलकाता बन्दरगाहसम्म ल्याइन्छन्। त्यसपछि रेलमार्फत वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहसम्म ढुवानी गरी नेपाल भित्र्याउने गरिएको छ ।
सडकमार्गको तुलनामा रेलमार्गबाट ढुवानी गर्दा खर्च कम हुनुका साथै सामान क्षति हुने जोखिम पनि न्यून हुने भएकाले आयातकर्ताले वीरगन्ज नाकालाई प्राथमिकता दिने गरेका छन्। चाडपर्वको समय नजिकिँदै जाँदा नाकाबाट तयारी मदिराको आयातसँगै यसबाट संकलन हुने राजस्वमा समेत वृद्धि हुने देखिएको छ ।