जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा पर्यटक आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएका फाउन्टेन वर्षौँदेखि बिग्रिएर प्रयोगविहीन अवस्थामा छन्। तर जीर्ण बनेका ती संरचनाको मर्मतसम्भारमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।
जानकी मन्दिरको सौन्दर्यीकरण तथा बाह्य र आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले लाखौँ रुपैयाँ खर्चेर प्रांगणमा फाउन्टेन निर्माण गरिएको थियो। तर निर्माण भएको केही समयमै बिग्रिएका फाउन्टेन वर्षौँ बितिसक्दा पनि सञ्चालनमा ल्याउन नसकिएको हो ।
मन्दिरको मुख्य प्रांगणमै रहेका फाउन्टेन लामो समयदेखि प्रयोगविहीन हुँदा पर्यटकीय स्थलको सौन्दर्यमा समेत असर परेको स्थानीय बताउँछन्। स्थानीय युवा श्याम चौधरीका अनुसार फाउन्टेन बिग्रिएको पाँच वर्षभन्दा बढी भइसके पनि मर्मतका लागि तीनै तहका सरकारबाट प्रभावकारी पहल भएको छैन ।
“जनकपुरधामको पहिचान बोकेको जानकी मन्दिर अगाडि वर्षौँदेखि फाउन्टेन बिग्रिएर अलपत्र छ। यसलाई मर्मत गर्न सरकारसँग बजेट नभएको हो कि इच्छाशक्ति नभएको हो?” चौधरीले प्रश्न गरे ।
अर्का स्थानीय जगरनाथ मुखियाले जानकी मन्दिरमा आउने पर्यटकले मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वसँगै आसपासको पूर्वाधार र वातावरणको अवस्थासमेत हेर्ने गरेको बताए। मुख्य प्रांगणमै लामो समयदेखि बिग्रिएको संरचना देखिनुले जनकपुरधामको पर्यटन व्यवस्थापनबारे नकारात्मक सन्देश जाने उनको भनाइ छ ।
जानकी मन्दिर जनकपुरधामको धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा चिनिन्छ। मन्दिर परिसरको पूर्वाधार, सरसफाइ, सौन्दर्यीकरण तथा संरक्षणले जनकपुरधामको समग्र पर्यटन छविमा प्रभाव पार्ने भएकाले बिग्रिएका संरचनाको तत्काल मर्मत गर्नुपर्ने स्थानीयको माग छ ।
स्थानीयका अनुसार ती फाउन्टेन मधेस प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत २०७६ सालमा जानकी मन्दिर सौन्दर्यीकरणका क्रममा निर्माण गरिएको थियो। सोही क्रममा टायल्स तथा मार्बललगायतका कामसमेत गरिएको थियो। तर फाउन्टेन सञ्चालनमा आएको करिब दुई वर्षमै बिग्रिएको र त्यसपछि मर्मत हुन नसकेको बताइएको छ ।
फाउन्टेन मर्मतसम्भारको जिम्मेवारी कुन निकायले लिने भन्ने विषयसमेत अन्योलमा रहेको स्थानीयको भनाइ छ। यसैबीच, प्रदेश सरकारको उक्त योजनासँग सम्बन्धित फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेको बताइएको छ। उक्त प्रकरणमा सचिवदेखि कर्मचारीसम्म केही व्यक्तिलाई दण्ड–जरिवाना तथा सजायसमेत भएको जनाइएको छ ।