रौतहटका अतिरिक्त हुलाक कर्मचारीले लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्नुपरेको भन्दै सरकारले आफूहरूको श्रमअनुसार पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
अतिरिक्त हुलाक कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्नुपर्ने भए पनि आफूहरूले मासिक करिब ७ हजारदेखि ८ हजार रुपैयाँ मात्रै पारिश्रमिक पाउँदै आएको कर्मचारीहरूको भनाइ छ। न्यून आम्दानीका कारण दैनिक गुजारा चलाउनसमेत समस्या भइरहेको उनीहरूको गुनासो छ।
फतुवा विजयपुर नगरपालिका–२ दुधियास्थित इलाका हुलाक कार्यालयका अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक आनन्द पौडेलले आफूले करिब दुई दशकदेखि सेवा गर्दै आए पनि पारिश्रमिक र सुविधामा उल्लेख्य सुधार हुन नसकेको बताए।
त्यस्तै, मिठुअबा अतिरिक्त हुलाककी पत्रवितरक बिमला देवीले १२ वर्षदेखि सेवा गरे पनि हाल मासिक ७ हजार २ सय रुपैयाँ मात्रै पारिश्रमिक पाउँदै आएको बताइन्। उक्त रकमले परिवारको खर्च धान्न कठिन भइरहेको उनको भनाइ छ।
कर्मचारीका अनुसार कार्यालयमा आवश्यक पोसाक तथा कामका लागि चाहिने सामग्रीको व्यवस्थासमेत पर्याप्त छैन। राज्यले आफूहरूलाई न्यून पारिश्रमिकमा काम गराइरहेको अवस्थामा विभिन्न स्थानीय तहमा करार कर्मचारी थप्दा सरकारी खर्च बढिरहेको उनीहरूको गुनासो छ।
कामको जिम्मेवारी र कार्यालयमा बिताउनुपर्ने समय बढ्दै गए पनि पारिश्रमिकमा सुधार नभएको भन्दै अतिरिक्त हुलाक कर्मचारीले श्रमअनुसारको उचित पारिश्रमिक, पोसाक तथा आवश्यक सेवा–सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।