धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा २० वर्षीया विवाहित महिला आफ्नै घरमा मृत फेला परेकी छन्। घटनापछि प्रहरीले उनका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
स्थानीय विनोद दासकी पत्नी प्रियंका दास आइतबार साँझ घरभित्रै सुत्ने कोठाको ओछ्यानमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार प्रियंकालाई सुरुमा सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा देखिएको बताइएको छ। त्यसपछि उनका श्रीमान् विनोदले पासो खोलेर शवलाई ओछ्यानमा राखेको मृतकका आफन्तले बताएका छन् ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी कपिलेश्वरबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी शवको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
यता, प्रियंकाको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीय तथा आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन्। आइतबार रातिसम्म घटनास्थलमा ठूलो संख्यामा स्थानीय भेला भएर प्रहरी प्रशासनसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए ।
स्थानीयले घटनास्थल पत्रकारलाई समेत अवलोकन गर्न दिनुपर्ने माग गरेका थिए। पत्रकारलाई घटनास्थलमा प्रवेश गर्न नदिएको विषयमा समेत उनीहरूले असन्तुष्टि जनाएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाइरहेको छ। घटनाबारे प्रारम्भिक सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको उनले बताए ।
प्रहरीले घटनाको वास्तविक कारण र मृत्युको प्रकृति अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाएको छ ।