महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक काम ठप्प भएको भन्दै नगरपालिकाले सम्पूर्ण वडा र कार्यालयमा तालाबन्दी गरेको छ ।
नगरपालिकाका प्रमुख संजिवकुमार साहले आफूलगायत सबै वडा कार्यालय बन्द गरेर साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । नगरप्रमुख साहका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका सञ्चालनमा समस्या भइरहेको छ । उनले सरकारलाई पटक-पटक प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।
डेढ महिनादेखि प्रशासकीय अधिकृत नहुँदा मेला महोत्सव, उपचार छूट सिफारिस, टेण्डर प्रक्रिया तथा विकास निर्माणका कार्यहरू प्रभावित भएका छन् । ‘नगरपालिकाको प्रशासनिक कामकाज ठप्प हुँदा सेवाग्राही समस्यामा परेका छन्। मन्त्रालयलाई पटक-पटक जानकारी गराए पनि अधिकृत पठाइएको छैन,’ नगरप्रमुख साहले भने, ‘कामकाज रोकिएपछि कार्यालय खोल्नुको अर्थ छैन ।’
नगरप्रमुख साहले तीन पटकसम्म मन्त्री तथा सचिवलाई भेटेर अधिकृत पठाउन अनुरोध गरे पनि कुनै पहल नभएको गुनासो गरे। उनले वरिष्ठताको आधारमा निमित्त अधिकृत तोकेर चार दिनभित्र उपसचिवलाई हाजिर गराउने भनिए पनि १५ दिनसम्म पनि अधिकृत सम्पर्कमा नआएको बताए ।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नभएसम्म सम्पूर्ण प्रशासनिक कार्य बन्द रहने घोषणा गरेको छ । यस विषयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आफूले गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयमा जानकारी गराइसकेको बताएका छन् ।