१. जानकी मन्दिरका फाउन्टेन पाँच वर्षदेखि बन्द, मर्मतमा छैन चासो
जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा पर्यटक आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएका फाउन्टेन वर्षौँदेखि बिग्रिएर प्रयोगविहीन छन्। लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका फाउन्टेन सञ्चालनमा आएको करिब दुई वर्षमै बिग्रिएको र पाँच वर्षभन्दा बढी समयदेखि मर्मत हुन नसकेको स्थानीयको गुनासो छ।
२०७६ सालमा सौन्दर्यीकरणअन्तर्गत निर्माण गरिएका संरचना जीर्ण बन्दै जाँदा मन्दिर परिसरको सौन्दर्यमा समेत असर परेको स्थानीय बताउँछन्। फाउन्टेन मर्मतको जिम्मेवारी कुन निकायले लिने भन्ने विषयमा अझै अन्योल कायमै छ।
२. चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तयारी मदिराको आयात बढ्यो
दसैं, तिहार र छठपर्व नजिकिँदै गर्दा वीरगंज नाकाबाट तेस्रो मुलुकको तयारी मदिराको आयात बढेको छ।
वीरगंज भन्सार कार्यालयका अनुसार असोज ४ गतेदेखि मात्रै सिर्सिया सुक्खा बन्दरगाह हुँदै १० करोड ४८ लाख रुपैयाँ बराबरको तयारी मदिरा नेपाल भित्रिएको छ। बियर, वाइन, ह्विस्की र भोड्कालगायतका मदिराबाट सरकारले २२ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख कृष्णप्रसाद मैनालीले जानकारी दिनुभयो।
चाडपर्व नजिकिँदै जाँदा मदिराको आयात अझै बढ्ने अनुमान गरिएको छ।
३. मधेशमा उच्च शिक्षा सुधारबारे दुईदिने उच्चस्तरीय संवाद सुरु
मधेश प्रदेशमा उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारुपबारे दुईदिने उच्चस्तरीय संवाद कार्यक्रम सुरु भएको छ।
युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले बाराको सिमरामा आयोजना गरेको कार्यक्रममा संघीय सांसद, प्रदेश सरकार, विश्वविद्यालयका पदाधिकारी, नीति निर्माता, विज्ञ तथा सरोकारवालाको सहभागिता रहेको छ।
कार्यक्रममा मधेश प्रदेशको उच्च शिक्षाको अवस्था, जिल्लागत सम्भाव्यता, समस्या र सुधारका उपायबारे छलफल भइरहेको छ। राष्ट्रिय योग्यता प्रारुपअन्तर्गत औपचारिक, अनौपचारिक तथा सीप शिक्षाबाट प्राप्त ज्ञान र सीपलाई एकीकृत तथा प्रमाणीकरण गर्ने विषयमा समेत छलफल गरिने जनाइएको छ।
४. बन्दागोभी बोकेको ट्रकमा २ हजार ५६६ किलो गाँजा बरामद
सुनसरीको इनरुवामा बन्दागोभी बोकेको ट्रकमा लुकाएर तस्करी गर्न लागिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ।
इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा प्रहरीले ना ७ ख १८२५ नम्बरको ट्रक जाँच गर्दा ८३ वटा बोरामा राखिएको २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजा बरामद गरेको हो।
गाँजा बन्दागोभीले छोपेर लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनामा ट्रक चालक र सहचालक पक्राउ परेका छन्। उनीहरूलाई गाँजा र ट्रकसहित नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
५. सप्तरीबाट हराएका दुई बालिका दिल्लीबाट सकुशल उद्धार
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ जोगिनियाँबाट हराएका दुई १६ वर्षीया बालिकालाई प्रहरीले भारतको नयाँ दिल्लीबाट सकुशल उद्धार गरेको छ।
अनिसा कुमारी यादव र बबिता कुमारी गोठियालाई आवश्यक प्रक्रिया पूरा गरी आइतबार साँझ परिवारको जिम्मा लगाइएको हो।
परिवारले भदौ ११ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजतलासका लागि निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। खोजीका क्रममा दुवै बालिका नयाँ दिल्लीमा रहेको खुलेपछि प्रहरीले ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरी उनीहरूको उद्धार गरेको जनाएको छ।
६. भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा चक्काजाम
पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित दसौता–इनर्वा नाकामा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा कडाइ गरिएपछि स्थानीय आन्दोलित भएका छन्।
भारतीय सवारीसाधनको आवतजावत रोकिएपछि दैनिक कामकाज प्रभावित भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्दै चक्काजामसहित प्रदर्शन गरेका हुन्।
स्थानीयले भिस्वा नाकामा जस्तै दसौता नाकाबाट पनि भारतीय चारपाङ्ग्रे सवारीसाधनलाई सहज प्रवेश दिन माग गरेका छन्। सशस्त्र प्रहरीसँगको छलफलपछि तत्कालका लागि चक्काजाम स्थगित गरिएको छ।
७. रौतहटका अतिरिक्त हुलाक कर्मचारीको गुनासो : ‘महिनाको ७ हजारले कसरी चलाउने?’
रौतहटका अतिरिक्त हुलाक कर्मचारीले लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्नुपरेको भन्दै श्रमअनुसारको पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
कर्मचारीका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गरे पनि मासिक ७ हजारदेखि ८ हजार रुपैयाँसम्म मात्रै पारिश्रमिक पाउँदै आएका छन्।
न्यून पारिश्रमिकका कारण दैनिक गुजारा चलाउनसमेत समस्या भएको भन्दै उनीहरूले उचित पारिश्रमिकसँगै पोसाक र आवश्यक सेवा–सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
८. सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोलसहित पक्राउ
सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका थिए।
दुर्घटनापछि उनको साथमा पेस्तोल फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
९. रौतहटमा इँटा भट्टाबाट ४२ भारतीय नागरिकको उद्धार
रौतहटमा कामका लागि भारतबाट ल्याइएका ४२ जना भारतीय नागरिकलाई प्रहरीले इँटा भट्टाबाट उद्धार गरी भारतीय सुरक्षा निकायको जिम्मा लगाएको छ।
गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटा भट्टामा काम गरिरहेका उनीहरूलाई ल्याउने भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि कामदार र उनीहरूसँगै आएका परिवारका सदस्य अलपत्र परेका थिए।
अलपत्र पर्नेमा १२ पुरुष, ११ महिला तथा १९ बालबालिका रहेका थिए। सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेर उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएका सबैलाई आवश्यक प्रक्रिया पूरा गरी भारतीय सुरक्षा निकायको समन्वयमा भारततर्फ पठाइएको रौतहट प्रहरीले जनाएको छ।