पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, पञ्चगावास्थित मूल पार्कमा एकदिने बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार आयोजित कार्यक्रममा स्थानीय युवा तथा समाजसेवीहरूको उत्साहजनक सहभागिता रहेको थियो । नारायणी खबर मिडिया सखुवा प्रसौनीको आयोजना तथा सखुवा प्रसौनी गाउँपालिकाको समन्वय र सहयोगमा कार्यक्रम गरिएको हो। रक्तसञ्चार केन्द्र पर्साले कार्यक्रमका लागि प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
कार्यक्रममा दुई महिलासहित २५ जना स्थानीय युवा तथा समाजसेवीले रक्तदान गरेका छन्। स्थानीयस्तरमा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै आवश्यक परेका बिरामीका लागि रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
नारायणी खबरका सम्पादक चिरञ्जीवी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताए। अस्पतालमा रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम प्रशंसनीय रहेको उनको भनाइ थियो।
उनले स्थानीयस्तरमा यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिन सखुवा प्रसौनी गाउँपालिका सदैव तत्पर रहने बताए।
कार्यक्रमका अध्यक्ष एवं नारायणी खबरका सम्पादक चिरञ्जीवी यादवले सञ्चारमाध्यमको भूमिका समाचार सम्प्रेषणमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्नेतर्फ पनि केन्द्रित हुनुपर्ने बताए।
रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले गाउँपालिका र प्राविधिक टोलीको सहकार्यमा कार्यक्रम आयोजना गर्न सम्भव भएको भन्दै यादवले रक्तदाता, सहयोगी संस्था तथा कार्यक्रममा उपस्थित अतिथिप्रति आभार व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष चिरञ्जीवी महतो थारु, आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव तथा स्थानीय पत्रकार रामकिशोर चौधरी र नवल यादवको विशेष उपस्थिति थियो।
त्यसैगरी सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुसवाहा, लेखा शाखा प्रमुख सुमन साह, लेखा शाखा प्रमुख सुमन साह, प्रशासन शाखा प्रमुख अरविन्द ठाकुर र स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारलगायतको सहभागिता रहेको थियो।
रक्तसञ्चार केन्द्र पर्साका प्राविधिक मनिस साहको नेतृत्वमा आएको टोलीले रक्त संकलन तथा आवश्यक प्राविधिक व्यवस्थापनमा सहयोग गरेको थियो।
आयोजकका अनुसार स्थानीयस्तरमा नियमित रूपमा रक्तदानजस्ता सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दा रगतको अभावमा उपचार प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ।