राजविराज नगरक्षेत्रमा पछिल्लो समय बाँदर देखिन थालेपछि बालबालिका त्रसित बनेका छन् । एक÷दुई वटा तथा चार वटासम्मको समूहमा देखिने बाँदर घरका छत, पानी ट्याङ्की, पसल, मन्दि र तथा सडकआसपास पुग्ने गरेका छन् । राजविराज–२ का चन्दन यादवका अनुसार पछिल्लो हप्ता वडा नं। २, ९ लगायत नगरका विभिन्न स्थानमा कालो अनुहार भएका ठुला बाँदर देखिएका छन् । सडकमा बाँदर देखिएपछि बालबालिका डराउने र बाटो काट्नसमेत हिचकिचाउने गरेको उनले बताएका छन् ।
राजविराजका अधिवक्ता हेमनारायण चौधरीको घरको छतमा केही दिनअघि ठुलो बाँदर आएर बसेको थियो । उनले बाँदरलाई धपाउन खोज्दा माथिल्लो तलाको पानी ट्याङ्कीमा गएर बसेको र पटक पटक धपाउँदा पनि नभागेको बताए । केही समयपछि भने बाँदर आफैँ त्यहाँबाट गएको उनको भनाइ छ ।
चौधरीले भने, “घरको कौसीमा आएर बस्यो । धपाउन खोज्दा पानी ट्याङ्कीमा गएर बस्यो । धपाउँदा पनि नभागेपछि केही समयपछि आफैँ कहाँ गयो थाहा भएन ।” स्थानीय गृहिणी अनिता मण्डलले बस्तीमा देखिएका बाँदरले अहिलेसम्म मानिसलाई कुनै क्षति नगरेको बताउँछिन् । हिन्दु धर्ममा बाँदरलाई हनुमान अर्थात् बजरङ्गबलीको स्वरूप मानेर खानेकुरा दिने, पूजा गर्ने र ढोग्ने प्रचलन रहेकाले पनि मानिसले बाँदरलाई सहज रूपमा लिने गरेको उनले थपिन् ।
मण्डलले भनिन्, “बाँदर देखेपछि बालबालिका उफ्रिने र बाँदर पनि कुद्ने गरेको देखिन्छ । त्यसलाई हेरेर मनोरञ्जन गर्ने गरेका छन् ।” डिभिजन वन कार्यालय राजविराजका प्रमुख मनोज ठाकुरले जङ्गलमा आहाराको अभाव भएपछि बाँदर खानेकुराको खोजीमा राजमार्ग आसपास तथा बस्ती क्षेत्रमा आउने गरेको भने । मानिसले बाँदरलाई खानेकुरा दिने गरेपछि बस्तीमा आउन पल्किने र पुनः जङ्गल फर्किन नचाहने उनको भनाइ छ ।
प्रमुख ठाकुरले राजविराज बजार क्षेत्रमा बाँदर आएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनका अनुसार सामान्य अवस्थामा बाँदरबाट मानिसलाई क्षति हुने सम्भावना कम हुन्छ । मानिसले धार्मिक आस्थाका कारण बाँदरलाई हनुमानको स्वरूप मानेर खानेकुरा दिने तथा पूजा गर्ने भएकाले पनि बाँदर मानवबस्ती आसपास रमाउने गरेको उनले सुनाए ।
वन कार्यालयले बाँदरलाई बस्तीमा आकर्षित नगर्न मानिसले जथाभाबी खानेकुरा दिन नहुने र जङ्गल तथा प्राकृतिक वासस्थानमा पर्याप्त आहाराको व्यवस्था हुने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ ।