जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ तलावमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीयले सोमबार बिहान पोखरीको डिलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। बिहान करिब पौने १० बजे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतक पुरुषको उमेर करिब ५० देखि ५५ वर्षको अनुमान गरिएको छ। उनको पहिचान भने हालसम्म खुल्न सकेको छैन। नाम, थर र ठेगानासमेत यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।