पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले आगामी मंसिरदेखि पुल सञ्चालनमा ल्याउने गरी निर्माणको काम तीव्र बनाइएको जनाएको छ ।
कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर ढलानको काम भइरहेको छ। फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण र ढलानको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दि ए।
विसं २०७८ असारमा आएको बाढीले पुलको पिलरमा क्षति पुर्याएपछि पुलको अवस्था जीर्ण बनेको थियो। पुनःनिर्माणमा ढिलाइ हुँदा लामो समयसम्म स्थानीयवासीले कमला नदी पार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो ।
पुल निर्माणमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले गति लिएको महतोले बताए। पुलका दुवैतर्फ पहुँच सडकमा माटो भर्ने काम पूरा भइसकेकाले बाँकी निर्माण सकेर मंसिरदेखि यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो। अहिले पनि सोही निर्माण कम्पनीमार्फत पुल पुनःनिर्माणको काम भइरहेको छ ।
यसैबीच, हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ। यस खण्डमा पर्ने २४ वटा पुलसमेत निर्माण सम्पन्न भएका छन् ।
योजना कार्यालयका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा ५७ दशमलव ५२ किलोमिटरमध्ये २९ दशमलव ९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन छ।
धनुषामा ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। महोत्तरीमा ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर र सर्लाहीमा १६६ दशमलव २ किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ भित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक क्षेत्रमा रहेका घरटहरा हटाउन ढिलाइ तथा विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालयले जनाएको छ।
मधेस प्रदेशका आठवटै जिल्लामा हुलाकी सडक तथा पुल निर्माण अघि बढेसँगै ग्रामीण क्षेत्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ। सडक सञ्जाल विस्तारले स्थानीय व्यापार, कृषि उत्पादनको बजारीकरण तथा समग्र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।