सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महोत्तरीको पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रमाथि कारबाही गरेको छ ।
मन्त्रालयको निर्णय अटेरी गरेका मिश्रको प्रशासनिक र आर्थिक अधिकार खोसिएको मन्त्रालयले जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार पिपरा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रलाई यसअघि नै अन्यत्र सरुवा गरिएको भएपनि पालिका छोड्न अटेर गर्दै आएका थिए । मिश्रले मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत राधेश्याम ठाकुरलाई भने हाजिर हुनै दिएनन् ।
हाजिर हुन नसकेपछि राधेश्याम ठाकुरले प्रधानमन्त्री कार्यालय मातहत रहेको हेलो सरकारमा पालिका अध्यक्ष रामजानकी यादव र प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रविरुद्ध गुनासो गरेका थिए ।
पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले ठाकुरलाई हाजिर गराउन आफू बाधक नभएको दाबी गरे । अध्यक्ष यादवले भने 'उहाँलाई हाजिर हुन नदिने मेरो मनसाय थिएन ।' आफू ठाकुरलाई हाजिर गराउन चाहेपनि ठाकुरले हेलो सरकारमा गुनासो गरेको अध्यक्ष यादवले दुखेसो पोखे ।
मन्त्रालयले सरुवा भइसकेका अधिकृत ठाकुरलाई तत्काल पालिकामा हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले मिश्रमाथि भएको कारबाहीको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) लाई समेत गराएको छ । साथै, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई अविलम्ब जिम्मेवारी दिएर कामकाजमा लगाउन र खाता सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
आफू अनुकूल पालिका रोजेर बस्ने, सरुवा हुँदा अटेरी गर्ने, मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिर नै हुन नदिइ लखेट्ने प्रवृत्ति बढिरहँदा मन्त्रालयले यस्तो काम गर्नेमाथि कठोर हुने रणनीति बनाएको हो । महोत्तरीकै बासिन्दा रहेका मिश्रले राजनीतिक नेतृत्वसँग मिलेमतो गरी लामो समयदेखि महोत्तरीका विभिन्न पालिकामा आलोपालो बस्दै आएका छन् ।
यसअघि महोत्तरी घर भएका अख्तियारका विवादित पूर्वआयुक्तसँग नजिकिएका मिश्रले अनुचित लाभ लिएको आरोप समेत लाग्दै आएको छ ।
भिडियाे रिपाेर्ट