मधेशका प्रमुख समाचार
१. चाडपर्व लक्षित मधेशमा ७ हजारभन्दा बढी प्रहरी परिचालन
जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले ४१ दिने विशेष सुरक्षा योजना लागू गरेको छ। असोज १९ देखि कात्तिक ३० गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत प्रदेशका आठवटै जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार चाडपर्वका समयमा हुने आपराधिक गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोकथाम तथा धार्मिक स्थल र भीडभाड हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।
सुरक्षा योजनाअन्तर्गत ९२ स्थानमा क्यूआरटी, १८ स्थानमा स्ट्राइकिङ टोली र ८७ स्थानमा ट्राफिकसहितको चेकिङ टोली परिचालन गरिएको छ। मोबाइल तथा पैदल गस्तीलाई समेत तीव्रता दिइएको प्रहरीले जनाएको छ।
पर्सा, धनुषा र ढल्केवरमा लागुऔषध तथा विस्फोटक पदार्थ जाँचका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। संवेदनशील क्षेत्रमा ड्रोन र सीसीटीभीमार्फत निगरानी गरिनेछ भने प्रदेशभर ५५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
२. मधेशमा खानेपानी संकट गहिरिन सक्ने मुख्यमन्त्री यादवको चेतावनी
जनकपुरधाम । भूमिगत पानीको सतह निरन्तर घट्दै गएपछि मधेश प्रदेशमा आगामी दिनमा खानेपानीको संकट थप गम्भीर बन्न सक्ने मुख्यमन्त्री कृष्णप्रसाद यादवले चेतावनी दिएका छन्।
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा मुख्यमन्त्री यादवले तिहारपछि मधेशमा खानेपानीको समस्या अझ बढ्न सक्ने बताएका हुन्।
उनले संकटको सम्भावनालाई मध्यनजर गर्दै संघीय सरकारले तत्काल आवश्यक योजना, स्रोत र साधनको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
३. जनकपुरको दशरथ तलावमा अज्ञात पुरुषको शव फेला
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ तलावमा एक पुरुषको शव फेला परेको छ।
स्थानीयले बिहान पोखरीको डिलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले करिब ५० देखि ५५ वर्ष उमेरका पुरुषको शव फेला पारेको हो।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। प्रहरीले शवको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जनाएको छ।
४. कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि सञ्चालन गर्ने तयारी
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले आगामी मंसिरदेखि पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिएको जनाएको छ।
कार्यालयका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ। सुपर ढलानसँगै अन्य तीनवटा पिलरको सबलीकरण र ढलानको काम पनि अन्तिम चरणमा पुगेको छ।
२०७८ सालको बाढीले पुलका पिलरमा क्षति पुर्याएपछि पुनर्निर्माण प्रभावित हुँदै आएको थियो। लामो समयदेखि रोकिएको काम अघि बढेसँगै पुल सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
५. ड्राइपोर्टको मुआब्जा माग्दै धर्नामा बसेका पीडितलाई सांसद कानुको भेट
वीरगञ्ज । वीरगञ्ज सुख्खा बन्दरगाह निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जा माग्दै धर्नामा बसेका स्थानीय पीडितलाई पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले भेटेका छन्।
ड्राइपोर्टको मुख्य गेटमा पुगेर सांसद कानुले पीडितहरूको माग तथा समस्याबारे जानकारी लिएका हुन्। उनले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
मुआब्जा नपाएको भन्दै स्थानीय पीडितहरू सोमबारदेखि ड्राइपोर्टको मुख्य गेटमा अनिश्चितकालीन धर्नामा बसेका छन्। उनीहरूले आफूहरूले १२ वर्षदेखि मुआब्जा नपाएको दाबी गरेका छन्।
६. लालबकैया तटबन्ध मर्मत र स्तरोन्नतिका लागि बजेट माग
रौतहट । लालबकैया नदीको कमजोर बन्दै गएको तटबन्धका कारण वर्षायाममा बस्ती तथा खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या समाधान गर्न तत्काल बजेट विनियोजन गर्न माग गरिएको छ।
देवाही गोनाही नगरपालिका–४ का भाग्यनारायण बैठाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिँदै नदीको दुवैतर्फ रहेका तटबन्धको मर्मत, स्तरोन्नति तथा आवश्यक स्थानमा विस्तार गर्न माग गरेका हुन्।
वर्षायाममा तटबन्ध कमजोर हुँदा बाढीको जोखिम बढ्ने र स्थानीय बस्ती तथा कृषि क्षेत्र प्रभावित हुने भएकाले दीर्घकालीन समाधानका लागि तत्काल काम अघि बढाउन निवेदनमार्फत आग्रह गरिएको छ।
७. उच्च शिक्षा सुधारका लागि नीतिगत परिवर्तन अघि बढेको शिक्षामन्त्री पोखरेलको भनाइ
सिमरा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत तथा संरचनागत परिवर्तनको काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन्।
बाराको सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन र विश्वविद्यालयसम्बन्धी आवश्यक ऐन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्।
मधेश प्रदेशको शैक्षिक अवस्था सुधार गर्न स्थानीय तहमा देखिएका वास्तविक समस्या र शिक्षा क्षेत्रका सरोकारवालाहरूले दिएका सुझावलाई आगामी नीतिमा समेटिने उनले बताए।
उनले बदलिँदो आवश्यकता र समयअनुकूल शिक्षा प्रणाली विकास गर्न नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेकोमा जोड दिए।
८. जलेश्वरका मिठाई पसलमा अनुगमन, बिग्रिएको मिठाई नष्ट
महोत्तरी । दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै महोत्तरीको जलेश्वरमा मिठाई पसल तथा मिष्ठान्न भण्डारको अनुगमन गरिएको छ।
मन्त्री फकिरा महतो, सहायक प्रमुख जिल्ला अधिकारी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले विभिन्न मिठाई पसलमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा केही पसलमा बिग्रिएको मिठाई फेला परेको थियो। उपभोगका लागि अनुपयुक्त सामग्री नष्ट गर्नुका साथै सम्बन्धित पसललाई जरिवानासमेत गरिएको जनाइएको छ।
चाडपर्वको समयमा मिठाई तथा खाद्य सामग्रीको खपत बढ्ने भएकाले बजारमा गुणस्तरीय र सुरक्षित खाद्य पदार्थको बिक्री सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिइने बताइएको छ।