प्रहरीले बाराका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निजगढ नगरपालिका–११ रतनपुरका ३९ वर्षीय समशेर रुम्बा र सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार राति करिब १०ः५० बजे निजगढ–११ रतनपुरस्थित फुटबल मैदान नजिकै नियमित गस्तीमा खटिएको टोलीले शंकास्पद अवस्थामा रुम्बालाई फेला पारेको थियो। खानतलासी गर्दा उनको साथबाट एक थान भरुवा बन्दुक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
रुम्बाको साथबाट बन्दुकसँगै सेतो प्लास्टिकको डब्बामा राखिएको करिब ८० ग्राम बारुदजस्तो पदार्थ, एउटा सानो प्याकेट तथा बाँसको टुक्रा, प्लास्टिकको डोरी र रबरको ट्युब प्रयोग गरी बनाइएको पासोसहितका सामग्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय निजगढले अनुसन्धान अघि बढाएको छ। बारा जिल्ला अदालतले बुधबार उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विमल खतिवडाले जानकारी दिए ।
यस्तै, सिम्रौनगढ नगरपालिका–६ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित कुशवाहालाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।
बारामा एकै दिनको अन्तरालमा छुट्टाछुट्टै स्थानबाट हतियार बरामद हुनु सुरक्षा चुनौतीसँग जोडिएको विषय बनेको छ। प्रहरीले बरामद हतियार कहाँबाट ल्याइएको थियो र यसको प्रयोग वा कारोबारमा अरू व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।