जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि वडास्तरका योजनाको सम्झौता, कार्यान्वयन र अन्तिम भुक्तानीको अधिकार वडा कार्यालयलाई दिएको छ।
नगरसभाको निर्णयअनुसार उपमहानगरका २४ वटै वडाका सचिवले सम्बन्धित वडाका योजनाको सम्झौतादेखि भुक्तानीसम्मको प्रक्रिया अघि बढाउनेछन्। यसका लागि २४ वडामा २८ करोड ५० लाख ३८ हजार १४७ रुपैयाँ बराबरको बजेट कार्यान्वयनको जिम्मेवारी वडालाई दिइएको छ।
यसअघि वडाका योजनाको सम्झौता, कार्यादेश र भुक्तानी मुख्य कार्यालयबाट हुँदै आएको थियो। अब सबै प्रक्रिया वडाबाटै हुने भएपछि सेवाग्राहीलाई सहज हुनुका साथै योजना कार्यान्वयनमा हुने ढिलाइ घट्ने उपमहानगरको अपेक्षा छ।
प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाका अनुसार वडालाई प्रशासनिक र वित्तीय रूपमा जिम्मेवार बनाउँदै सेवा प्रवाह प्रभावकारी बनाउन अधिकार हस्तान्तरण गरिएको हो।
जीतपुरसिमराले वडामै लेखा कर्मचारी खटाएर योजनाको अन्तिम भुक्तानीसमेत गर्ने जनाएको छ। यसअघि वीरगंज महानगरले पनि वडालाई १ करोड रुपैयाँसम्मका योजनाको सम्झौता र कार्यान्वयनको अधिकार दिएको थियो।
वडालाई नयाँ जिम्मेवारी दिइएपछि सार्वजनिक खरिद र स्थानीय वित्त व्यवस्थापनसम्बन्धी कर्मचारीको क्षमता अभिवृद्धिका लागि उपमहानगरले तालिमसमेत सञ्चालन गरेको छ।