सिउँदोमा सिन्दुर छ, आँखामा श्रीमान् फर्किने आशा। राजविराज नगरपालिका–१६ बोरिया टोलकी २७ वर्षीया दरोपती कुमारी सदा बिहानदेखि साँझसम्म श्रीमान्को बाटो हेरेर दिन बिताइरहेकी छन्।
भदौ १० गते रसुवामा आएको बाढीपछि उनका श्रीमान् सुरेन्द्र सदा बेपत्ता छन्। नुवाकोटको त्रिशूली थ्री “बी” जलविद्युत आयोजनामा काम गर्दै आएका सुरेन्द्र बाढीपछि सम्पर्कविहीन भएका हुन्।
सुरेन्द्रको मृत्यु भएको पुष्टि नभएकाले दरोपती अन्तिम संस्कार गर्ने पक्षमा छैनन्। “मेरो सिउँदोको सिन्दुरले १२ वर्षसम्म श्रीमानको प्रतीक्षा गर्नेछ। उहाँ फर्केर आउनुहुन्छ भन्ने विश्वास छ,” उनले भनिन्।
श्रीमान् बेपत्ता भएपछि तीन छोराछोरीको पालनपोषणसमेत कठिन भएको छ। बुवाको पर्खाइमा रहेका ८ वर्षीया चाँदनी, ६ वर्षीया कुसुम र ४ वर्षीय रौनकले पढाइसमेत छाडेका छन्।
दरोपती मात्र होइन, बोरिया टोलकै शिवकुमार सदा र बेचन सदा पनि सोही बाढीपछि बेपत्ता छन्। उनीहरूका परिवार पनि अझै आफन्त फर्किने आशामै छन्।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार रसुवा बाढीपछि जिल्लाका ५३ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ११ जना सम्पर्कमा आएका छन्, एक जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन्।
बाढी गएको डेढ महिना पुग्न लाग्दा पनि यी परिवारको प्रतीक्षा भने अझै सकिएको छैन।