वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा र भेडियाही गाउँको बीचमा पर्ने चौरमा भन्सार छली गरिएका पित्तलका विभिन्न भाडा बर्तनसहित एक युवक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट गस्तीमा खटिएको टोलीले गस्ती गर्ने क्रममा बा.प्र.०३-००१ स १०२३ नम्बरको ई-लोडर गाडी रोकी जाँच गर्दा उक्त गाडीमा भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न प्रकारका पित्तलका भाडा बर्तन रहेको फेला परेको हो । प्रहरीका अनुसार ती सामान भारतको विहार राज्य, मोतीहारी जिल्लास्थित ग्राम फुलवरिया घर भएका २० वर्षीय निरज कुमार साह ले ल्याएका थिए ।
उनी हाल वीरगञ्ज महानगरपालिका–१०, रानीघाटमा कोठा भाडामा लिई बस्दै आएका छन् ।
प्रहरीले गाडीमा लोड गरिएका भाडा बर्तनहरू बिना कुनै भन्सार प्रज्ञापन पत्र ल्याएको पुष्टि गरेपछि अन्दाजी मूल्य तीन लाख नौ हजार रुपैयाँ बराबरको सामानसहित निरजलाई नियन्त्रणमा लिएको जनाएकाे छ ।
पक्राउ परेका साहलाई भन्सार ऐनअनुसार थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।