घरायसी काम सकेपछि बाँकी रहेको समयलाई आयआर्जनमा लगाएका रौतहटको उत्तरी भेगका विपन्न गृहिणीका लागि बाख्रापालन आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ।
घरमै बाख्रा पाल्ने, जङ्गल तथा सामुदायिक वनबाट घाँसको व्यवस्था गर्ने र तयार भएका खसी–बोका गाउँघरबाटै बिक्री हुने भएपछि ती महिलालाई सानातिना आर्थिक आवश्यकता पूरा गर्न श्रीमान्को भर पर्नुपर्ने अवस्था घट्दै गएको छ।
चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिकाका वन क्षेत्रसँग जोडिएका बस्तीका विपन्न गृहिणी महिलाले बाख्रापालन गरी आम्दानी गर्न थालेका छन्। कम लगानीमा घरमै गर्न सकिने र बजारको समेत समस्या नरहेको भन्दै उनीहरूले बाख्रापालनलाई आम्दानीको स्रोत बनाएका हुन्।
गुजरा नगरपालिका–रङ्गपुरकी जयन्तीमाला चौधरी भन्नुहुन्छ, “बिहान–बेलुकाको घरधन्दा सकेपछि बाख्राको स्याहारसुसार गर्ने, जङ्गल तथा सामुदायिक वनमा चराउन लैजाने र आवश्यकताअनुसार घाँस काटेर ल्याउँछौँ। घाँस र चरनको सहजताले बाख्रापालनमा हुने खर्च कम हुने भएकाले यस क्षेत्रका अधिकांश विपन्न महिला बाख्रापालनमा संलग्न छन्। मासु व्यवसायी तथा उपभोक्ताले घरमै आएर किनेर लैजाने भएकाले खसी–बोका बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था पनि छैन।”
यसैगरी, चन्द्रपुर नगरपालिका–३ गैँडाटारकी आसमायाँ तामाङले घरमा त्यसै बसिरहनुभन्दा आयमूलक काम गर्ने सोचले बाख्रापालन सुरु गरेको बताउनुभयो। उहाँका अनुसार खसी–बोका बिक्रीबाट वार्षिक ६० हजार रुपियाँभन्दा बढी आम्दानी हुने गरेको छ। उहाँको खोरमा अहिले साना–ठुला गरी २० वटाभन्दा बढी स्थानीय जातका बाख्रा छन्। सहजै पाल्न सकिने भएकाले गाउँका करिब २५–३० जना महिलाले बाख्रापालन गरेको उहाँले बताउनुभयो।
यस्तै, चन्द्रपुर नगरपालिका–२ जुडीबेलाकी प्रमिला चौधरीले पनि फुर्सदको समय सदुपयोग गर्दै बाख्रापालनलाई आम्दानीको माध्यम बनाउनुभएको छ। घर नजिकै चुरे तथा सामुदायिक वन रहेकाले घाँसको सहज उपलब्धता हुनु बाख्रापालनका लागि ठूलो सुविधा भएको उहाँले बताउनुभयो। उहाँ भन्नुहुन्छ, “दुई वर्षदेखि बाख्रापालन व्यवसायमा संलग्न छु। बाख्रा बिक्री हुन थालेपछि सानोतिनो घरखर्च र बाबुनानीको पढाइ खर्चका लागि श्रीमान्को मुख ताक्नुपर्ने अवस्था परेको छैन।”
बाख्रापालनबाट हुने आम्दानीले परिवारको आर्थिक अवस्था सुधारिनुका साथै श्रीमान्को आम्दानी बचत गर्नसमेत सहज भएको वृन्दावन नगरपालिका–बलेरीखोरकी सङ्गीता दनुवारको भनाइ छ।
वन क्षेत्रसँग जोडिएका बस्तीका विपन्न महिलाका लागि बाख्रापालन केवल घरायसी पशुपालनमा सीमित नभई आर्थिक आत्मनिर्भरताको माध्यमसमेत बनेको छ। घरमै उपलब्ध श्रम, वन क्षेत्रबाट सहजै प्राप्त हुने घाँस र स्थानीय बजारमै खसी–बोकाको माग हुने भएकाले उक्त क्षेत्रका महिलाले बाख्रापालनलाई विस्तारै व्यावसायिक रूप दिन थालेको चन्द्रपुर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सन्दीप सापकोटाले बताउनुभयो।